नीति र सर्वोच्चको आदेश विपरित भएकोले भित्तेचित्र मेटिएको शाक्यको भनाई
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आषाढ २३, बुधबार

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रत्नपार्कको भित्तेचित्र कानून र सर्वोच्च अदालतको फैसला अनुसार मेट्नुपरेको बताउनुभएको छ ।
नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै महानगर प्रमुख शाक्यले सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई कार्यान्वयनमा लग्नुपर्ने बताउनुभयो ।
सर्वोच्चको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न नपाइने शाक्यको भनाई थियो ।
‘०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्तेलेखन, पोष्टर, पम्पेटलगायतका सामग्री नराख्न र राखेका सामग्री हटाउन आदेश दिइसकेको छ’ शाक्यले सर्वोच्चको फैसला स्मरण गराउनुभयो ।
पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि आफुहरुले सर्वोेच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको दाबी गर्नुभयो ।
उहाँले यस अघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिनुभयो ।
‘नीति सबैका लागि बराबर हुन्छ,’ शाक्यले भन्नुभयो, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भैरहेको छ, त्यो होइन । निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिइ बनाएका त्यस्ता सामग्री हटाएका छौँ ।’
स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउन सहकार्य आवश्यक भएकोमा जोड दिँदै निधेष गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरुको सम्मान नहुने विचार शाक्यले राख्नुभयो ।
महानगरले सरकारी र सामुदायिक अस्पतालका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आर्थिक, भौतिक, प्रविधिगत र प्रणाली विकास गर्ने कार्यमा सहयोग गरेको उहाँले भन्नुभयो ।
महानगर क्षेत्र बाहिरका अस्पतालसँगसमेत सहकार्य गर्दै स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउने कार्य गरिहेको अवस्थामा महानगरपालिकाले कसरी उहाँहरुको सम्मानमा आघात पुर्यायो भनी शाक्यले प्रतिप्रश्न गर्नुभयो ।
Categorized in स्थानीय