परिक्षण घट्दै, बजारमा भीडभाड झन बढ्दै
SamacharDesk – बिकाश | २०७८ श्रावण ३०, शनिबार

नेपालमा पछिल्ला दिनमा कोभिड १९ संक्रमितको संख्या दिनहुँ बढ्दो अवस्थामा छ । संक्रमणको दोश्रो लहरसँगै बढेको संक्रमण केही नियन्त्रणमा आएको देखितापनि त्यसको केही दिनमै फेरी संक्रमण बढ्न थालेको हो ।
संक्रमणको बढ्दो अवस्थासँगै तेश्रो लहर शुरु भएको हो कि भन्ने आशंका पनि उब्जिएको छ । यस्तो अवस्थामा संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले ठोस कदम उठाउनुपर्ने आवाज उठिरहेका छन् ।
स्वास्थ्यकर्मीको साथमा नागरिकस्तरबाट पनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाईका साथ लागू गराउनुपर्ने र परिक्षणको दायरा बढाउनुपर्ने माग अहिले भइरहेको छ ।
तर बजारमा हेर्दा ‘तपाईँको मास्क खै’ अभियान चलिरहँदा आम सर्वसाधारण मास्क एउटा सम्म पनि नलगाई हिँडेको पनि देख्न पाइन्छ । साथमा पार्टी प्यालेस र रेस्टुरेन्टहरु पनि ढुक्क चलिरहेको छ ।
त्यसैगरी विभिन्न बहानामा बन्द कोठामा सभा समारोह पनि निर्वाध चलिरहेका छन् ।
यस किसिमका गतिविधि बन्द गराउनेतर्फ कुनै पहल भएको देखिएको छैन । अझ कतिपय कार्यक्रमहरुमा त जनप्रतिनिधिहरु नै प्रमुख अतिथिको रुपमा पुगिरेहेको पाइएको छ ।
भीडभाड नियन्त्रणमा कुनै पहल नभएको भनी आलोचना बढिरहेको बेलामा राती ८ बजेपछि यातायातका साधन भने बन्द गरिएका छन् । राती कुनै प्रकारका भीडभाड नहुने समयमा यातायात बन्द गरेर कुनै अर्थ नराख्ने भन्दै यसको पनि ब्यापक आलोचना भइरहेको छ ।
यस्तो अवस्थाका बीचमा परिक्षणको दायरा बढाउनुको साटो दिनहुँ झन साँघुरिँदै गएको छ । परिक्षण संख्या बढाउनुपर्नेमा झन कम हुँदै गएको छ ।
पछिल्लो २४ घण्टामा साढे १३ हजार जति मात्रै परिक्षण भएका छन् । जम्मा १३ हजार ५७३ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ ।
जम्मा ८ हजार ६६७ वटा आरटी पिसिआर परिक्षण गरिएको छ भने ४ हजार ९०६ वटा एन्टिजेन परिक्षण गरिएको हो ।
२० हजार बढि आरटी पिसिआर परिक्षणको क्षमता विकास गरिसकेको दावी गर्ने सरकारले अहिले एन्टिजेन परिक्षणसमेत गरेर पनि दैनिक परिक्षण संख्या २० हजार नै पुर्याउन सकेको छैन ।
बजारको भीडभाड, भेला, सभा, समारोह आदिलाई पनि रोक्न नसक्नु र परिक्षण पनि घटाउँदै लगेको अवस्थामा संक्रमण नियन्त्रणभन्दा बाहिर जाने हो कि भन्ने त्रास पनि बढेको छ ।
Categorized in राष्ट्रिय