arin enterprises

१६ हाते गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण ३०, शनिबार

काठमाडौं महानगरको वडा २७ महाबौद्धस्थित १६ हाते गणेशको साथमा महाङ्काल भैरव र शनिदेवको मन्दिर पुननिर्माण सम्पन्न भएको छ ।

आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण सम्पन्न भएका ती मन्दिरको उद्घाटन गर्नुभयो ।

उद्घाटनपछिको संचारकर्मीसँग कुरा गर्दै महानगर प्रमुख शाक्यले, सम्पदा पुननिर्माणसँगै सन्तुलित शहरी विकासका सबै पक्षमा महानगरले उत्तिकै जोड दिएर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

‘पैसाको अभावमा अमूर्त सम्पदासँग सम्बन्धित कुनै पनि क्रियाकलाप नरोकिउन भनेर परम्परागत गुठीहरुलाई १/१ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेका छौँ, यसबाट जीवन्त सांस्कृतिक शहर निर्माणमा सहयोग पुग्ने हाम्रो अपेक्षा हो’ शाक्यको भनाइ थियो ।

काठमाडौं महानगरपालिका २७ वडाका अध्यक्ष चिनियाँमान बज्राचार्यले यो मन्दिरसँग सम्बन्धित सांस्कृतिक र पुरातात्विक सम्बन्ध खोजिरहेको जानकारी दिनुभयो । यस अघि सडकमा भएको मन्दिर व्यवस्थित गरेर किनारामा स्थापना गरिएको उहाँले बताउनुभयो ।

सो अवसरमा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको साथै वडा २७ का वडा सदस्यहरु तथा स्थानीय वासिन्दाको सहभागिता थियो ।

वडाको करीव १० लाख रुपैयाँको लागतमा गरिएको पुनर्निर्माणमा स्थानीय मित्र युवा क्लव, मिसा पुचः र टोल सुधार समितिको सहयोग रहेको बताइएको छ ।

Categorized in संस्कृति