arin enterprises

बार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा शाक्यको जोड

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण ३२, सोमबार

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जनप्रतिनिधिले नगर सभाबाट पारित गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कर्मचारीहरुले भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

बार्षिक कार्ययोजना तर्जुमा गर्ने क्रममा विभागीय प्रमुखहरुसँग छलफल गर्दै प्रमुख शाक्यले जनप्रतिनिधिले तयार गरिदिएका कार्यक्रमको कार्यान्वयनमा लाग्न विभागीय प्रमुख र कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीको सुमधुर सम्बन्धले महसुस योग्य परिणाम आउने बताउनुभयो ।

सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले प्रशासनिक नेतृत्वले राजनीतिक नेतृत्वको नीति कार्यान्वयनमा सघाउने बताउँदै आ. व. ०७८/०७९ का लागि स्वीकृत कार्यक्रम कार्यान्वयन गर्न आव्हान गर्नुभयो ।

बार्षिक कार्ययोजना तर्जुमा सहजीकरणका लागि निर्देशक बसन्त आचार्यको संयोजकत्वमा टोली गठन गरिएको थियो । टोलीको सदस्यहरुमा उपनिर्देशकहरु प्रहलाद घिमिरे र प्रवीण प्याकुरेल र शाखा अधिकृत संन्जिव श्रेष्ठ हुनुहुन्छ ।

टोलीले साउन १८ गते छलफल आयोजना गरेर काम थालेको थियो । त्यसपछि विभागहरुलाई पठाइएको ढाँचामा कार्ययोजना तयार भएको छ । यसरी तर्जुमा गरिएको सम्झौतामा भोलि प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित विभागीय प्रमुखहरुविच हस्ताक्षर हुनेछ ।

महानगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को कार्ययोजनामा भएका मुख्य मुख्य ब्यवस्थाहरु

नियमित कामहरु सबै चौमासिकमा हुनेछन् । मापदण्ड, कार्यविधि तयारी तथा अवधारणा तयार गर्ने कामलाई पहिलो चौमासिकमा राखिएको छ ।

स्वास्थ्य बीमा गर्ने, बक्यौता भुक्तानी गर्ने, योजनाको स्पेसिफिकेसन¸लगत तयार र सूचना प्रकाशन गर्नु पर्ने काम पहिलो चौमासिकमा हुनेछ ।

बोलपत्र मूल्याङ्कन तथा सम्झौताहरुमध्ये आन्तरिक रुपमा गरिने पहिलो चौमासिकमा र परामर्श सेवाबाट गरिनेलाई दोस्रो चौमासिकमा राखिएको छ । पूर्वाधार निर्माण तर्फका योजनाहरु तेस्रो चौमासिकमा सम्पन्न गरिनेछन् ।

विभिन्न संस्थाहरुलाई प्रदान गरिने कार्यक्रम सहयोग दोस्रो चौमासिकमा सम्पन्न हुनेछ । संघसस्था छनौट गर्ने काम दोस्रो चौमासिकमा हुनेछ ।

विद्यालयमा माग संकलन गर्ने, आन्तरिक आय नभएका विद्यालय छनौट गर्ने, नमूना विद्यालय छनौट गर्ने पहिलो चौमासिकमा र रकम निकासा गर्ने दोस्रो चौमासिकमा हुनेछ । शिक्षा विभागका नियमित काम सबै चौमासिकमा हुनेछन् ।

सामाजिक विकास विभागअन्तर्गत सूचना प्रकाशन गर्ने, संस्था छनौट गर्ने, अवधारणा तयार गर्ने, छलफल गर्ने काम पहिलो चौमासिकमा हुनेछ । खेलकुदका कार्यक्रम वडामा पठाउने निकासा, पौरखी मेला, स्वयमसेवक परिचालन दोस्रो चौमासिकमा हुनेछ ।

जनप्रतिनिधिहरुको क्षमता विकास र तालिमका कार्यक्रम पहिलो र दोस्रो चौमासिकमा तथा कर्मचारीहरुको क्षमता विकास र तालिम दोस्रो र तेस्रो चौमासिकमा हुनेछ ।

ककनी र धुनीबेँसी पालिकालाई दिइने विकास अनुदानका लागि पहिलो चौमासिकमा सम्झौता हुनेछ भने दोस्रो चौमासिकमा निकासा पठाइनेछ । पहिलो चौमासिकमा गुणस्तरका आधारमा होटल तथा रेष्टुरेन्टको बर्गीकरण गरिनेछ ।

स्वास्थ्यतर्फ औषधी खरिद पहिलो चौमासिकमा हुनेछ भने स्वास्थ्य सेवाका नियमित काम सबै चौमासिकमा हुनेछन् । यससँगै नियमित हुने विभागका कामलाइ सबै चौमासिकमा राखिएको छ ।

Categorized in स्थानीय