दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन
SamacharDesk – बिराज | २०७८ भाद्र २, बुधबार

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा सडक प्रदर्शन गरेको छ ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै संघले काठमाडौँको नयाँ बानेश्वरमा अध्यादेशको विरोध गर्दै सडक प्रदर्शन गरेको हो ।
सभालाई सम्वोधन गर्दै संघका अध्यक्ष किरण पौडेलले परमादेशबाट बनेको सरकार नेपाली नागरिकको नभई देशी विदेशी तत्वहरुको स्वार्थको लागि भएको आरोप लगाउनुभयो ।
उहाँले वर्तमान कांग्रेस, माओवादीलगायतका दलहरुको गठबन्धन सरकारले देश र जनतालाई कुठाराधात गरेको भन्दै आक्रोस पोख्नुभयो ।
‘तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा जयसिंह धामी वेपत्ता भए । यस विषयमा समेत सरकारले भारतसँग चुइँक्क बोल्न सकेन’ पौडेलले भने, ‘वर्तमान सरकार एउटा कठपुतली मात्र हो ।’
सरकारले अध्यादेश निर्णय फिर्ता नलिएसम्म देशैभर आन्दोलन निरन्तर गरिरहने संघले जनाएको छ ।
Categorized in राजनीति