arin enterprises

भोलि ललितपुरमा नृसिंह जात्रा हुँदै

SamacharDesk – कल्चर ब्यूराे | २०७८ भाद्र १०, बिहिबार

भोलि ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा हुन गइरहेको छ । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म गुठीले वर्षेनी भाद्र कृष्ण पंचमीका दिन संचालन गर्दै आएको जात्रा यस वर्ष भोलि गाःबहालबाट हुने भएको छ ।

उपाकर्म गुठीका सदस्यहरुबीच ज्येष्ठताको आधारमा जात्राको पालो चलाउने र पालोवालाकै घरबाट जात्रा शुरु गरी ललितपुरमा नगर परिक्रमा गरी शुरु भएकै स्थानमा पुगेर जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।

यसै सन्दर्भमा यस वर्षको पालो ललितपुर गाःबहाल निवासी कोमलेशानन्द राजोपाध्याय (कोमल जुजु) ले चलाउने भएका छन् । र परम्परा अनुसार पालोवाला जुजुकै घरबाट जात्रा शुरु भई उहाँकै घरमा सम्पन्न हुनेछ ।

उपाकर्मलाई ब्राम्हणहरुको सबैभन्दा ठुलो र उत्तम कर्मको रुपमा लिइन्छ । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्मकै क्रममा यो जात्रा आयोजना गरिएको भनिन्छ ।

ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म पूर्ण हुन उपाकलं सायाः समेत भनिने यो जात्रा पनि सम्पन्न हुनुपर्ने मान्यता छ ।

ब्राम्हणहरुको सबैभन्दा ठुलो कर्म पूर्ण गर्नका लागि आयोजना गरिने यो जात्रा विगतका वर्षहरुमा निकै धुमधामका साथ मनाउने गरिन्थ्यो ।

विगतका वर्षहरुमा विभिन्न बाजागाजाको टोली, विभिन्न झाँकी, भजन मण्डलीसँगै लक्ष्मी, सरस्वती र प्रल्हादको साथमा नृसिंहले नगर परिक्रम गर्ने गरिन्थ्यो ।

तर यस वर्ष भने कोरोना महामारीका बीच संक्रमणको जोखिमको अवस्थामा विधिमात्र पूरा गर्ने गरी साधारण तरिकाले जात्रा सम्पन्न गर्न लागिएको छ ।

यस वर्ष जात्रामा कुनै पनि किसिमको झाँकी, भजन मण्डली अथवा बाजागाजाको टोली नहुने उपाकर्म गुठी व्यवस्थापन समितिका उपाध्यक्ष संयज शर्मा राजोपाध्यायले बताउनुभयो ।

‘अवस्था हेरेर हामीले यस्तो निर्णय गरेका हौं, दायाँबायाँ लक्ष्मी सरस्वती र अगाडी प्रल्हाद राखेर नृसिंह भगवानको जात्रा गरिनेछ । सबैले टाढैबाट अथवा घर भित्रैबाट दर्शन गरेर सहयोग गरिदिनु हुन अनुरोध गर्न चाहन्छु’ अध्यक्ष शर्माले भन्नुभयो ।

गएको वर्ष पनि यसरी नै जात्राको विधि मात्र पूरा गरी साधारण ढङ्गले जात्रा सम्पन्न गरिएको थियो ।

विश्व शान्तिको कामना गर्दै मनाइने यो जात्रा विना विघ्नवाधा सफलतापूर्वक सम्पन्न भएमा रोगव्याधी, भूकम्प, बाढिपहिरो लगायतका दैवीप्रकोप आदिबाट मानव समाजलाई दुःख नहुने जनविश्वास रहेको छ । 

Categorized in संस्कृति