जुर्यो ईन्द्रजात्रा (येँयाः) को साइत
SamacharDesk – बिराज | २०७८ भाद्र १२, शनिबार

काठमाडौंको सबैभन्दा ठुलो जात्राको रुपमा लिइने ईन्द्रजात्राको साइत जुरेको छ । ईन्द्रजात्रामा यःसिँ लिन गरिने वनयात्रादेखि यःसिँ क्वथयेगु (यःसिँ ढाल्ने) सम्मको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको हो ।
पञ्चाङ्ग समितिले सार्वजनिक गरेको साइत अनुसार हनुमानढोका तलेजु मन्दिर अगाडी उभ्याइने ‘यःसिँ’ लिन जान भाद्र २३ गते बुधबार विहानको १० बजेर ५२ मिनेटमा वनयात्रा गरिनेछ ।
नेवार समाजको मानन्धर समुदाय यःसिँ लिन भक्तपुरमा चित्तपोलस्थित यःसिँखेलमा वनयामा जाने गर्दछन् ।
त्यस्तै यःसिँको लागि चाहिने वृक्ष काट्ने साइत सोही दिन राती ७ः२७ बजेको रहेको छ । भाद्र २९ गते मंगलबार विहान १०ः३४ बजे यःसिँ नगर प्रवेश गराइनेछ ।
असोज २ गते शनिबार विहान ६ः५१ बजेको साइतमा यःसिं उठाइनेछ । यःसिँ उठाइएसँगै ईन्द्रजात्राको रौनक पनि शुरु हुने गर्दछ ।
रथयात्राको क्रममा भाद्र शुक्ल चतुर्दशीका दिन क्वःनेयाः गर्ने परम्परा अनुसार असोज ३ गते आइतबार कुमारीको साथमा गणेश र भैरवको रथलाई वसन्तुपरबाट तानेर चिकंमुगल, जैसीदेगल, ह्यूमत, क्वहिति, भीमसेनस्थान हुँदै मरुबाट बसन्तपुरमै पुर्याउँदै रथजात्रा सम्पन्न हुनेछ ।
यो दिनको जात्रा राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपतिले अवलोकन गर्ने परम्परा रहेको छ ।
त्यसैगरी त्यसको भोलिपल्ट भाद्र शुक्ल पुर्णिमा (असोज ४ गते) को दिन थःनेयाः अन्तर्गत बसन्तपुरबाट रथलाई प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्यौखा, बाङ्गेमुढा, न्हायकंटोल, असन, जनबहाल, ईन्द्रचोक, मखन क्षेत्रबाट तान्दै वसन्तपुरमै पुगेर जात्रा सम्पन्न हुनेछ ।
रथजात्राको अन्तिम दिन असोज कृष्ण तृतिया (असोज ८) का दिन नानिचायाःको क्रममा रथलाई किलागत क्षेत्रमा तान्ने गरिन्छ ।
सोही दिन राती १०ः३६ मा यःसिँ ढाल्ने साइत रहेको छ । यःसिँ ढालिसकेपछि जात्रा विधिवत् रुपमा सम्पन्न हुने गर्दछ ।
Categorized in संस्कृति