कृष्णको पूजा आराधना गर्दै कृष्ण जन्माष्टमी मनाईँदै
SamacharDesk – बिराज | २०७८ भाद्र १४, सोमबार

आज भाद्र कृष्ण अष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गर्दै देशैभरि साथमा भारतमा समेत धुमधामका साथ कृष्ण जन्माष्टमी पर्व मनाईँदैछ ।
द्वापर यूगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुले वसुदेव र देवकीको आठौं सन्तानको रुपमा श्रीकृष्णको रुप लिएर जन्म लिएको विश्वास गरिन्छ ।
भगवान श्री कृष्णको जन्म भएको आजको दिनलाई श्री कृष्ण जन्माष्टमी भनेर मनाइन्छ भने रातलाई मोहरात्री भनिन्छ ।
वर्षको चारवटा रात्रीलाई निकै महत्वपूर्ण मानिन्छ । शिवरात्री, बडादशैंको कालरात्री, तिहारमा लक्ष्मी पूजाको दिनको सुखरात्रीसँगै कृष्ण जन्माष्टमीको रात्री मोहरात्रीको विशेष महत्व रहेको छ ।
भगवान विष्णुको आठौं अवतार भगवान श्री कृष्णलाई ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेताको रुपमा लिइन्छ ।
आजको दिनमा भगवान श्रीकृष्णको पूजा आराधना गर्दै व्रत पनि बस्ने गरिन्छ भने रातको समयमा भजन किर्तन गर्दै जाग्राम बस्ने गरिन्छ । त्यसैगरी विभिन्न स्थानहरुमा श्रीकृष्णको जात्रा पनि गर्ने गरिन्छ ।
यस दिनमा विशेष गरी ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा मेला नै लाग्ने गर्दछ । कोराेनो महामारीको अवस्थामा यो मेला आज प्रभावित बनेको छ ।
काठमाडौंको वसन्तपुरस्थित कृष्ण मन्दिरमा पनि आज भक्तजनको घुईँचो नै लाग्ने गर्दछ ।
द्वापर यूगमा कंशको अत्याचार बढ्दै जाँदा यसबाट लोकलाई मुक्ति दिलाउन, समग्र मानव समाजको कल्याणको लागि विष्णुले कृष्णको रुपमा अवतार लिएको धार्मिक विश्वास रहेको छ ।
त्यसैगरी कौरवको अत्याचार बढ्दै जाँदा उनै श्रीकृष्णले अर्जुनको सारथी बनेर महाभारत युद्धमा पाण्डवहरुको साथ दिएका थिए ।
महाभारत युद्ध शुरु हुन अघि विचलित बनेका सत्यको पक्षमा युद्ध गर्न कृष्णले सुनाएको उपदेश श्रीमद्भागवतगीता आज वैष्णव धर्मको महत्वपूर्ण ग्रन्थ बनेको छ । यो श्रीमद्भागवतगीता संसारमा सबैभन्दा बढि भाषामा अनुवाद भएको ग्रन्थ मानिन्छ ।
Categorized in संस्कृति