arin enterprises

नामसंगीति पर्वकोको निरन्तरताको लागि ललितपुर– १६ वडाबाट आर्थिक सहयोग

SamacharDesk – बिराज | २०७८ भाद्र १४, सोमबार

नामसंगीति पर्व निरन्तरताका लागि ललितपुर महानगरपालिका–१६ ले नेपाल परम्परागत बौद्ध धर्मसंघलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ ।

ललितपुरको नकबहिलस्थित पाटीमा नामसंगीति पाठसँगै वडाअध्यक्ष निर्मलरत्न शाक्य, वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्य, पञ्चबज्र बज्राचार्य र विजय महर्जनले संघका महासचिव दिनेश शाक्यसहित संघका पदाधिकारीलाई संयुक्त रुपमा ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा वडाअध्यक्ष शाक्यले काठमाडौं उपत्यकाको नेवाः बौद्ध समाजमा प्रचलित आर्य मञ्जुश्री नामसंगीति पाठ एउटा अर्मूत संस्कृतिको रुपमा रहेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि वडाको तर्फबाट सहयोग स्वरुप रकम प्रदान गरिएको बताउनुभयो ।

‘गुठी, संघसंस्था, स्थानीय जनताले सयौं वर्षदेखि यसको संरक्षण गर्दै आएको छ ।उहाँहरुलाई प्रोत्साहित गर्नुपर्ने दायित्व महशुस गरी वडाले सहयोग गरेको हौं’ शाक्यले भन्नुभयो ।

सो अवसरमा संघका महासचिव दिनेश शाक्यले हरेक वर्ष चैत्र पूर्णिमाको दिन ललितपुरमा सञ्चालन हुने नामसंगीति पर्वको निरन्तरताको लागि सो रकमको अक्षय कोष खडा गर्ने बताउनु भयो ।

विशेष दिन र गुंला पर्व अवधिभर एक महिना टोलटोलमा बसेर नामसंगीति पाठ गर्ने परम्परा रहेको छ । बौद्ध अध्येयताहरुका अनुसार सो परम्परा नेपालमा ११ औं शताब्दीदेखि चलेको थियो ।

बज्रपाणी नामक बोधिसत्वको आग्रहमा शाक्यमुनि बुद्धले चैत्र पूर्णिमाका दिन धान्यकटक महाचैत्यमा बसेर नामसंगीति बारे देशना गर्नुभएको बज्रयानी बौद्ध ग्रन्थमा उल्लेख गरिएको छ ।

मायाजाल तन्त्रराज सुत्र अन्तर्गत राखिएको नामसंगीति बुद्धत्व ज्ञान प्राप्त गर्ने चित्त उत्पन्न गर्नका लागि एउटा पवित्र चर्याको रुपमा पाठ गर्ने गरिन्छ ।

Categorized in स्थानीय