फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री र काठमाडौँ महानगरका प्रमुख उपप्रमुखविच छलफल
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ भाद्र १४, सोमबार

फोहोर व्यवस्थापनका विषयमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले छलफल गर्नुभएकाे छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा कुराकानीका क्रममा महानगर प्रमुख शाक्यले सडक विग्रिएर फोहोर उठाउन कठिन भएको कारणको बारे जानकारी गराउनुभएकाे थियाे ।
शाक्यको कुरा सुनिसकेर प्रधानमन्त्री देउवाले तत्कालै त्यहीँबाट सडक विभागका महानिर्देशकलाई टेलिफोन सम्पर्क गरेर तत्काल सडकलाई सुचारु हुने बनाउन निर्देशन दिनुभएको थियो ।
त्यस्तै शान्ति सुरक्षालाई मजवुत बनाउन गृहमन्त्री बालकृष्ण खाँडलाई टेलिफोन गरेर आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई भेटमा बञ्चरे डाँडाको ल्याण्डफिल साइड छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरेको बताउनुभयो ।
‘मैले भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्रमार्फत फोहोर व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेको थिएँ । आज सकारात्मक कुराकानी भएको छ । महानगर सिसडोलसम्म जाने बाटो निर्माणका लागि लाग्ने खर्च तयार छ’ शाक्यले भन्नुभयो ।
प्रमुख शाक्यले प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधीन बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको उल्लेख गरिएको छ ।
साथै, सो साइटसम्म पुग्ने बाटोसमेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको जानकारी पनि पत्रमार्फत गराइएको थियो ।
सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । जसका कारण अहिले उपत्यकाका सडकमा फोहोरको मात्रा बढ्दै गएको हो ।
Categorized in स्थानीय