वडाध्यक्ष श्रेष्ठको निधनले अभिभावक गुमाएको अनुभूति भएको मेयर शाक्यको भनाई
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ भाद्र १८, शुक्रबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठको निधनले आफूलाई अभिभावक गुमाएको अनुभूति भएको बताउनुभएको छ ।
आज एक शोक सन्देश जारी गर्दै उहाँले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताउनु भएको छ ।
‘श्रेष्ठको परलोक गमनपछि महानगरपालिकाले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एकचित्त भएर लाग्ने एक अभिभावक गुमाएको छ । उहाँको योगदान काठमाडौँ महानगरपालिकाले स्मरण गरिरहनेछ’ प्रमुख शाक्यको शोक सन्देशमा उल्लेख गरिएको छ ।
सन्देशमा प्रमुख शाक्यले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल एवम वेदनाग्रस्त परिवारजनमा जनप्रतिनिधि, कर्मचारी र महानगरवासीको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
वडाध्यक्ष श्रेष्ठको हिजो साँझ ५ः२६ बजे उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
आज बिहान करीव साढे ९ बजेतिर अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिक शरीरलाई वडा कार्यालय प्राङ्गण दमाइ टोलमा राखिएको थियो ।
त्यहाँ पुगेर महानगर प्रमुख शाक्यको साथमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीसँगै स्थानीयबासीले श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धान्जली दिएका थिए ।
मध्यान्ह १ बजेपछि उनको शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो ।
उहाँले ०४३ सालमा पहिलो पटक वडा सदस्यका रुपमा काम काम गर्नुभयो । त्यसपछि ०४९ र ०५४ सालको स्थानीय निर्वाचनमा यसै वडाको वडाध्यक्षका रुपमा निर्वाचित हुनुभएको थियो ।
साविक स्थानीइ निकाय जनप्रतिनिधिविहिन भएका बेला ०६० सालमा उहाँ मनोनित वडाध्यक्ष हुनुभएको थियो ।
त्यसपछि शासन व्यवस्था परिवर्तनसँगै ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधित्व गर्दै फेरि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
Categorized in स्थानीय