जिप्रकाको निषेधाज्ञा सूचनाको प्रत्युत्तरमा गृहको अर्को सूचना
SamacharDesk – बिराज | २०७८ आश्विन १४, बिहिबार

काठमाडौं उपत्यकाको तीनै जिल्लाको जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने कार्यक्रम, गतिविधि नगर्न सूचना सार्वजनिक गर्दा यसको प्रत्युत्तरमा गृह मन्त्रालयले अर्को सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत भक्तपुर र ललितपुरले पनि आजै बिहानमात्र असोज १४ गते १२ बजेदेखि लागू हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि भन्दै निषेधाज्ञाको अवधि थप गरेको थियो ।
कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै जिप्रकाले यस अवधिभरी भिडभाड, सभा जुलुस, जात्रा महोत्सव, भोज आदि नगर्न, नगरान सूचना जारी गरेको थियो ।
सूचना जारी भए लगत्तै आम सर्वसाधारणमा काँग्रेसको महानगर अधिवेशन र नेकपा (एमाले) को विधान महाधिवेशनलाई लिएर चासो देखिएको बेला गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै स्वास्थ्य प्रोटोकल भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज नलगाउने बताएको छ ।
‘नेपालको संविधान, प्रचलित कानून र कोभिड १९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल भित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ’ मन्त्रालयबाट जारी विज्ञप्तीमा लेखिएको छ ।
एमालेले यहि असोज १५ गतेबाट १७ गतेसम्म गोदावरी ललितपुरमा विधान महाधिवेशन गर्न लागेको छ । त्यस्तै सत्तारुढ नेपाली कांग्रेसकै काठमाडौं नगर अधिवेशन पनि आउँदो शनिबारका लागि तय भएको छ ।
प्रमुख प्रतिपक्षी साथै सत्तारुढ दलकै ठुला कार्यक्रमहरु नजिक जिप्रकाबाट निषेधाज्ञाको सूचना सार्वजनिक भएकाे बेला गृह मन्त्रालयबाट यस किसिमको सन्देश आउँदा सरकार जनस्वास्थ्यप्रति सम्वेदनशील नरहेको भन्दै आलोचना बढेको छ ।
Categorized in राष्ट्रिय