arin enterprises

मातृभाषा शिक्षा सुनिश्चित बनाएकोमा सांसद श्रेष्ठ सम्मानित

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आश्विन २१, बिहिबार

शिक्षा विधेयकमा संशोधन प्रस्ताव हाल्दै मातृभाषा शिक्षा सुनिश्चित बनाउन सफल भएको भन्दै नेपालभाषाका विद्यार्थीहरुले सांसद राजेन्द्र श्रेष्ठलाई सम्मान गरेका छन् ।

आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रत्नराज्य क्याम्पसमा स्नातक तहमा नेपालभाषा विषय अध्ययन गर्दै गरेका विद्यार्थीहरुले सांसद श्रेष्ठको सम्मान गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरुले संयुक्त रुपमा श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे ।

सम्मान ग्रहण गरिसकेर बोल्दै सांसद श्रेष्ठले आफुले यस अघि पनि मातृभाषा शिक्षा राज्यले नै दिनुपर्ने माग गर्दै आएको बताउँदै त्यो बेला संविधानबाटै मातृभाषा सुनिश्चित नहुँदा कार्यान्वयन हुन नसकेको बताए ।

विगतमा मातृभाषा शिक्षाको लागि सम्वन्धित समुदायले नै विद्यालय खोल्नुपर्ने अवस्थाबाट अहिले संविधानले नै मातृभाषा शिक्षाकाे अधिकार सुनिश्चित गरेपछ अब स्थानीय सरकारले नै मातृभाषा शिक्षा दिन थालेको अवस्था बनेको उहाँको भनाई थियो ।

‘विगतमा नेपालभाषाबाट शिक्षा लिन नेवार समुदायले नै जगतसुन्दर ब्वनेकुथि स्कूल खोलेको थियो’, श्रेष्ठले भन्नुभयो, ‘आज काठमाडौं महानगरपालिकाले नेपालभाषा माध्यमबाट शिक्षा दिन थालेको छ, अन्य स्थानीय तहमा पनि तयारी र पहल हुँदैछ ।’

कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार, त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका पूर्व प्रमुख चन्द्रमान बज्राचार्य, विश्व नेवाः संगठन, नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन लगायतले समुदायको उत्थानको लागि भाषाको उत्थान हुनुपर्ने र भाषाको उत्थानको लागि मातृभाषा शिक्षाको विकास हुनुपर्नेमा जोड दिएका थिए ।

विद्यार्थीहरुको तर्फबाट बोल्दै श्रृजनमान श्रेष्ठले भाषिक समानतासमेतको पक्षमा आफुहरु निरन्तर अघि बढ्दै आएको बताउँदै अब हरेक समुदायले आ–आफ्नो मातृभाषाबाटै शिक्षा लिन सकिने वातावरण बन्दा निकै खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा नेपालभाषा संरक्षण, सम्वद्र्धनमा योगदान पुर्‍याएको भन्दै विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

Categorized in समाज