बडादसैंको दोश्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै
SamacharDesk – बिराज | २०७८ आश्विन २२, शुक्रबार

आज आश्विन शुक्ल द्वितीया, नेपालीहरुको महान् चाड बडा दसैंको दोस्रो दिन ।
हिजो पूजा कोठा अथवा दसैं घरमा जमरा राखेर कलश स्थापना गरी शुरु भएको दसैंको क्रममा आज पनि शक्तिको उपासना गर्दै दुर्गा भवानीको पूजा आराधना गरिँदैछ ।
कोभिड १९ संक्रमणमा कमी देखिएकाले यस वर्ष शक्तिपीठहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
बडा दसैंसँगै हिजैबाट नवरात्र पनि शुरु भएको छ । नवरात्रको क्रममा नौ दिनसम्म प्रत्येक दिन दुर्गा भवानीको विभिन्न रुपको पूजा आराधना गरिन्छ ।
यसै क्रममा आज दोश्रो ब्रम्हचारिणीको उपासना गरिँदैछ । नवरात्रको अवधिमा नौ रात दश दिनसम्म शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गर्ने गरिन्छ ।
दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी ब्रम्हचारिणीलाई पंचामृत चढाई पूजा गर्दा दीर्घायू प्राप्त हुने जनविश्वाश छ ।
नवरात्रको पूजालाई कुण्डलिनी जागरण वा चक्र जागरणको रुपमा पनि लिन सकिन्छ । ब्रम्हचारिणीको साधनाबाट स्वाधिष्ठान चक्र जागृत हुने विश्वास गरिन्छ ।
ब्रह्मको अर्थ तपस्या हो भने चारिणीको अर्थ आचरण बानी भन्ने बुझिन्छ । तपस्याको आचरणलाई ब्रह्मचारिणीको अर्थमा बुझिन्छ ।
वैदिक मत अनुसार ब्रह्मचारिणीको पूजा गर्ने आजको दिनमा तान्त्रिक मत अनुसार भने माहेश्वरीको पूजा गरिन्छ । कौल परम्पराका अनुयायीहरु आजको दिनमा महेशकी शक्ति माहेश्वरीको उपासना गर्ने गर्दछन् ।
Categorized in संस्कृति