arin enterprises

बडादशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

SamacharDesk – बिराज | २०७८ आश्विन २५, सोमबार

नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैंको आज पाँचौ दिन ।

आज पनि एका विहानैदेखि विभिन्न शक्तिपीठहरुमा पूजा र दर्शन गर्नेहरुको ठुलै भीड लागेको थियो ।

विशेष गरी शक्तिको उपासना गर्दै मनाइने बडादशैंको अवसरमा काठमाडौंमा भद्रकाली, इन्द्रायणी, शोभा भगवती, फर्पिङको दक्षिणकाली, भक्तपुरमा इन्द्रायणी, वाराहीलगायतका पीठहरुमा दिनहुँ दर्शन र पूजा गर्नेको ठुलै भीड लाग्ने गर्दछ ।

नवरात्रको क्रममा आज स्कन्दमाता देवीको पूजा आराधना गरिँदैछ । स्कन्दमातालाई सुख, शान्ति तथा मोक्षकी देवीको रुपमा लिइन्छ । आजको दिनमा स्कन्दमातालाई केरा चढाएमा शुभ लाभ हुने धार्मिक विश्वास रहेको छ ।

शिवपुत्र कुमार कार्तिकेयको अर्को नाम स्कन्द पनि हो । स्कन्द कुमारको आमा भएकोले स्कन्द माता भनिएको पुराणहरुमा उल्लेख गरिएको छ ।

कुण्डलिनी जागरणको सिद्धान्त अनुसार स्कन्दमाताको आराधनाबाट विशुद्ध चक्र जागरण हुने भनिएको छ । विशुद्ध चक्र घाँटीमा रहने गर्दछ । त्यसैले यसलाई कण्ठ चक्र पनि भन्ने गरिन्छ ।

आफ्ना पुत्र कुमार कार्तिकेयलाई काखमा राखेकी माता चार भुजाकी हुनुहुन्छ । नाना प्रकारको आभूषण एवं अर्ध चन्द्र धारण गरेकी, देवी आफ्नो दुवै हातमा पद्म या कमलको लिएकी हुन्छिन् ।

स्कन्दमाता आफ्नो वाहन सिंहमा विराजमान रहेकी हुन्छिन् । कमलको फुललाई पनि माताको आसनको रुपमा लिइन्छ ।

नवरात्रको ९ दिनसम्म शक्तिस्वरुपा दुर्गा भवानीका विभिन्न ९ रुपको पूजा आराधना गर्ने परम्परा रहेको छ ।

वैदीक मतानुसार स्कन्दमाताको आराधना गरिने आजको दिनमा कौल मतावलम्बीहरुले बाराहीको पूजा अर्चना गर्ने गर्दछन् । भक्तपुरमा बाराहीलाई याकति अजिमाको नामले पुकार्ने गरिन्छ ।

र यसपालि आजै षष्ठी तिथि पनि पर्न आएकोले आजै इन्द्रायणीको पनि पूजा आराधना गरिँदैछ ।

गत वर्ष कोभिड महामारीका कारण शुन्य बनेको दशैंमा यस वर्ष भने ठुलै चहलपहल देखिएको छ । विहान शक्तिपीठको साथमा दिउँसोको बजारमा ठुलै भीड देखिएको छ ।

Categorized in संस्कृति