बडादशैंको नवौं दिन, महानवमी मनाईँदै
SamacharDesk – बिराज | २०७८ आश्विन २८, बिहिबार

आज आश्विन शुक्ल नवमी, बडा दशैंको नवौं दिन महानवमी । आज पनि देशैभरिका विभिन्न शक्तिपीठहरुमा दर्शन र पूजा गर्नेको ठुलै घुइँचो लागेको छ । झिसमिसे विहानै शक्तिपीठहरुमा लामै लाइन देखिसकेको थियो ।
आजै शक्तिपीठहरुमा बलि पनि दिने गरिन्छ । शक्तिपीठहरुमा खसी, बोका, राँगोको साथमा हाँस आदिको बलि दिने परम्परा छ ।
जीव बलि नदिनेहरुको भने अण्डा अथवा नरिवल फुटाउने गर्छन् । काठमाडौं उपत्यकाका नेवार समुदायमा कतिको भने कुभिन्डोमा मार हान्ने गर्छन् । यसलाई ‘भुइफसि पालेगु’ भन्ने गरिन्छ ।
यसको साथमा नेवार समुदायको समयबजि पनि चढाउने गर्छन् ।
आज पूजा जाने क्रममा आश्विन शुक्ल प्रतिपदाको दिन दशैं घर अथवा आगम घरमा लगाइएको जमरा विभिन्न शक्तिपीठहरुमा लगेर चढाइन्छ ।
यसको साथमा आजै सबैको घरघरमा आ–आफ्नो वाहनको पूजा गर्दै चाड मनाउँदैछन् । यस क्रममा वाहनलाई पनि बलि दिने परम्परा रहेको छ ।
नवरात्रीको क्रममा सिद्धिदात्रीको आराधना गरिँदै
आज बडादशैंको क्रममा नवरात्रीको अन्तिम दिन, सिद्धिदात्रीको पूजा आराधना गरिँदैछ । सिद्धिदात्री पूजाको क्रममा मातालाई चना, हलुवा र पुरीको भोग चढाउने गरिन्छ ।
सिद्धिदात्रीको पूजा गर्नाले सम्पूर्ण सिद्ध प्राप्त हुने र सम्पूर्ण ब्रह्माण्डमा विजय प्राप्त गर्ने शक्तिसमेत प्राप्त हुने जनविश्वास छ ।
सिद्धिदात्रीलाई दुर्गा भवानीको नवौं र अन्तिम रुप भनी विश्वास गरिएको छ । अणिमा, महिमा, गरिमा लघिमा, प्राप्ती, प्राकाम्य, ईशित्व र वशित्व नाम गरेका अष्टसिद्धिहरु यिनै सिद्धिदात्रीको कृपाबाट पाइने शास्त्रहरुमा उल्लेख गरिएको छ ।
कमलको फुलमा विराजमान गरेकी सिद्धिदात्रीले आफ्नो चार भुजामा शंख, चक्र, गदा र पद्म बोकेकी हुन्छिन् ।
Categorized in संस्कृति