arin enterprises

आज कागको साथमा कुकुर तिहार पनि मनाईँदै

SamacharDesk – बिराज | २०७८ कार्तिक १७, बुधबार

आज नेपालीहरुको दोश्रो महान चाड तिहारको दोश्रो दिन, कागको साथमा कुकुर पूजा पनि गरी मनाईँदैछ ।

आज कार्तिक कुष्णको त्रयोदशीको साथमा चतुर्दशी पनि एकै दिन पर्न आएकोले आज एकैदिनमा काग तिहारको साथमा कुकुर तिहार पनि मनाइएको हो ।

यद्यपि यमपञ्चक भने हिजैबाट शुरु भइसकेको छ । हिजो यमदीपदान गर्दै यमपञ्चकलाई स्वागत भइसकेको छ ।

काग तिहारको अवसरमा कागको लागि भात, कागको प्रिय मासु आदि राखेर कागलाई निमन्त्रणा गर्ने गरिन्छ । कागको लागि खानेकुराकोसँगै टिका, अक्षता, फुल पनि राख्ने गरिन्छ ।

यमदूतकै रुपमा लिइने कागले शुभ समाचार ल्याओस् भन्दै कागको पूजा गर्ने गरिन्छ ।

त्यसैगरी आजै कुकुरलाई पनि टिकाको साथमा फुलमाला लगाइदिएर मिठा मिठा खानेकुरा खुवाई कुकुर पूजा गरिएको छ । कुकुरलाई यमदूतको साथमा यमलोकको द्वारपालको रुपमा लिइन्छ ।

कुकुर पूजा गरेमा यमलोक यात्राको क्रममा यमलोकको मूलढोकामा बस्ने श्याम र सबल नामका दुई कुकुरले सहजै बाटो छोडिदिने जनविश्वास छ ।

पशुहरुमध्ये कुकुर मान्छेहरुको सबैभन्दा नजिकको र सबैभन्दा इमान्दार साथी हो ।

कार्तिक कृष्ण चतुर्दशीको दिन पर्ने नरक चतुर्दशी भने भोलि विहान मनाइनुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

Categorized in संस्कृति