arin enterprises

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न

SamacharDesk – बिराज | २०७८ कार्तिक २५, बिहिबार

आज विहान उदाउँदो सूर्य देवलाई अर्घ दिँदै यस वर्षको छठ पर्व सम्पन्न भएको छ ।

देशका विभिन्न छठ घाटबाट हिजो बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुले आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म सूर्यको उपासना गर्दै मनाइने छठ पर्व सम्पन्न भएको हो ।

छठ पर्व तराईवासीहरुको सबैभन्दा ठुलो पर्व हो । पर्वको मुख्य दिन हिजो साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।

नदि, पोखरी, तलाउ लगायतका विभिन्न जलाशयमा भेला हुँदै हिजो निराहार व्रत बसेर विधिपूर्वक छठी माताको साथमा सूर्य देवको पूजा अर्चना गर्दै साँझमा अस्ताउँदो सूर्य देवलाई अर्घ दिएका थिए ।

सूर्य देवलाई अर्घ दिइसकेर रातभरी जाग्राम बस्ने गरिन्छ भने त्यसको भोलिपल्ट उदाउँदा सूर्यलाई अर्घ दिइसकेर पर्वको विधिवत समापन हुने गर्दछ ।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी, भुसवा, माटोको हात्ती, कनसुपती, कलशसहितको घैंटोलाई सूर्यदेवलाई अर्पण गर्ने गरिन्छ ।

छठ पर्व मनाउनाले छाला सम्वन्धी रोग नहुने, भइहालेमा निको हुने, विभिन्न मनोकांक्षा पूरा हुने जनविश्वास रहि आएको छ ।

यो पर्व कार्तिक शुक्ल चतुर्थीबाट शुरु भएर सप्तमी तिथिसम्म चार दिन मनाइन्छ ।

विशेष गरी तराईबासीले मनाउने यो पर्व अहिले देशैभरी मनाउन थालिएको छ ।

छठ पर्वको अवसरमा तराईका नदि, पोखरी, तलाउहरुलाई विशेष किसिमले सिंगारिने गरिन्छ । पछिल्लो समयमा पर्व मनाउनका लागि काठमाडौंमा वागमती, नख्खु लगयात गौरीघाट, गुह्येश्वरी, कमलपोखरीमा छठ घाट बनाउने गरिएको छ ।

गत वर्ष कोरोना महामारीका कारण घरभित्रै सिमीत भएको छठ पर्वले यस वर्ष भने ठुलै रौनकता पाएको छ ।

Categorized in संस्कृति