arin enterprises

मध्यपुर थिमिमा शंखधर पार्कको उद्घाटन सम्पन्न

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ कार्तिक २९, सोमबार

भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरमा शंखधर पार्कको उद्घाटन गरिएको छ ।

मध्यपुर थिमिस्थित शंखधर चोकमा निर्माण गरिएको पार्कको आइतवार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभयो ।

उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका महानगर प्रमुख शाक्यले समारोहमा बोल्दै उपत्यकाका १२ नगरपालिकालाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवद्र्धन र पार्क निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराएको जानकारी गराउनुभयो ।

‘काठमाडौं महानगरपालिकाले आ. व. ०७७/०७८ को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत नगर–नगर साझेदारी कार्यक्रमलाई अघि बढाइरहेको छ, संघीय राजधानी काठमाडौं महानगरले आफु विकास र समृद्धिको बाटोमा अघि बढ्दा अभिभावक भई अरु नगरलाई पनि सँगै लानुपर्छ’ शाक्यको भनाई थियो ।

काठमाडौं महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगले उक्त पार्क निर्माण गरिएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै मध्यपुर थिमि नथरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौं महानगरपालिकाको सहयोगले करीब १९ रोपनी क्षेत्रफलमा पानीको झरना, झुन्डिएको उद्यान, ढुङ्गेधारा, डबली, वाकिङ रोड निर्माण गरेको जानकारी दिनुभयो ।

‘काठमाडौं महानगरपालिकाको २ करोड र मध्यपुर थिमिको ४ करोड गरी जम्मा ६ करोड रुपैयाँ खर्च भएको छ, निर्माण कार्य अझै बाँकि छ, अझै केही लगानी गर्न बाँकि रहेकोले महानगरबाट थप आर्थिक सहयोगको अपेक्षा कायम छ’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।

महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संस्कृति र सम्पदा संरक्षण, प्रवद्र्धनमा काठमाडौं र मध्यपुर सँगसँगै अघि बढ्ने बताउनुभयो ।

विगतमा फोहोर फाल्ने गरिएको स्थानमा पार्क निर्माण गरिएको हो । हिजोका दिनमा फोहोर थुप्रिने गरेको स्थानमा अहिले आकर्षक पार्क निर्माण भएपछि स्थानीय वासिन्दा खुसी भएका छन् ।

Categorized in स्थानीय