मङ्गलबारदेखि देशभरका सबै विद्यालयहरू बन्द हुने
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २६, सोमबार

काठमाडौँ । देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरू मङ्गलबारदेखि बन्द गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को पुस २५ गतेको सिफारिसबमोजिम आज मन्त्रालयले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको छ ।
वार्षिक बिदामा मिलान हुने गरी आगामी माघ १५ गतेसम्म बिदा दिने निर्णय मन्त्रालयको निर्णयमा उल्लेख छ ।
सो अवधिमा विद्यालयले स्थानीय स्वास्थ्य चौकीसँग सम्पर्क गरी १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोही पनि नछुट्ने गरी खोप लगाउन आवश्यक समन्वय र सहजीकरण गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
साथै, शिक्षण संस्थामा प्रवेश गर्ने सबैले खोपकार्ड अनिवार्य राख्नुपर्ने तथा अर्को सूचना जारी नभएसम्म सार्वजनिक समारोहका कार्यक्रम आयोजना नगर्न पनि मन्त्रालयले निर्देश गरेको छ ।
