arin enterprises

गुठीको संरक्षणको लागि मोटरसाइकल र्याली हुँदै

SamacharDesk – करुण शर्मा | २०७६ आषाढ १४, शनिबार

गुठी विधेयक विरुद्ध आन्दोलनरत पक्षले विधेयक खारेजीको माग सहित आज शनिबार मोटरसाइकल र्यालीको आयोजना गर्दैछ ।

विधेयक फिर्ता गरेर नहुने र खारेज नै गर्नुपर्ने माग सहित र्याली गर्न लागिएको हो । न्यूरोड जुद्ध शालिकबाट शुरु गरिने मोटरसाइकल र्याली उपत्यकाका विभिन्न स्थान परिक्रमा गर्दै किर्तिपुरमा पुगेर समापन हुनेछ ।

न्यूरोडबाट जमल, दरवारमार्ग हुँदै कमलपोखरी गौशालाबाट कोटेश्वर, जडिबुटि, सिनामंगल हुँदै पुरानो थिमिबाट व्यासी हुँदै कमलविनायक, च्याम्हासिँह भएर सिद्ध पोखरी पुग्नेछ । त्यसपछि सिद्धपोखरीबाट सल्लाघारी, कोटेश्वर, ग्वार्को हुँदै मंगलबजार, पूल्चोक, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खुबाट किर्तिपुर पुगेर र्याली समापन हुनेछ ।

र्यालीको संयोजन राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गर्दैछ भने विभिन्न संघसंस्थाको सहकार्य रहेको छ ।

पहिचान र स्वाभिमानको संरक्षणको लागि राज्यलाई खबरदारीको रुपमा यो र्याली आयोजना गर्न लागिएको प्रचार विभाग प्रमुख राजाराम तण्डुकारले बताउनुभयो । ‘विधेयक फिर्ता हुँदैमा फेरी षडयन्त्र नहोला भन्न सकिन्न । विधेयक खारेज नै हुनुपर्छ भन्ने हाम्रो माग हो’ तण्डुकारको भनाई थियो ।

‘गुठीप्रेमीहरुलाई सामन्ती भन्ने, संस्कृति संरक्षणको लागि आवाज उठाउँदा भ्रम फैलाएको भन्ने । के मन्त्रीहरुको व्यवहार यस्तै हो ?’ संघर्ष समितिका पूर्व संयोजक साथै निर्देशन समितिका सदस्य श्यामकृष्ण प्रजापतिले भने, ‘गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने गैर जिम्मेवार मन्त्रीहरुले पनि राजीनामा दिनुपर्छ ।

र्याली विहान ११ बजेबाट शुरु हुनेछ भने १० बजेबाट भेला हुने बताइएको छ ।

Categorized in राष्ट्रिय