नेपाल पुलिस स्कुल फुटवल एकेडेमी उद्घाटन
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ फाल्गुण ९, सोमबार

नेपाल प्रहरी विद्यालय साँगा काभ्रेपलाञ्चोकमा नेपाल पुलिस स्कुल फुटबल एकेडेमीको उद्घाटन भएको छ ।
सोमबार एक समारोहबीच नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र अखिल नेपाल फुटवल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले संयुक्त रुपमा एकेडेमिको उद्घाटन गर्नुभएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षक शाही र एन्फाका अध्यष शेर्पाले रेफ्रीलाई फुटवल हस्तान्तरण गर्दै एकेडेमीको उद्घाटन गर्नुभएको हो । सो अवसरमा शाही र शेर्पाले संयुक्त रुपमा खेलाडीहरूलाई खेल सामग्रीसमेत वितरण गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक शाहीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सक्षम नागरिक बनाउन शिक्षा, स्वास्थ्य एवम् संस्कृतिलाई पनि सँगसँगै लैजान विद्यालयका समादेशक, प्राचार्य, शिक्षक लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।
फुटबल एकेडेमीको स्थापनामा एन्फाको भूमिकाबारे चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक शाहीले यस कार्यले स्कुलको स्तरवृद्धिमा थप कोसेढुंगा थपिएको उल्लेख गर्नुभयो ।
एन्फाका अध्यक्ष शेर्पाले नेपाल प्रहरी विद्यालयमा फुटबल एकेडेमीको स्थापनाले नेपाली फुटबलमा नयाँ आयाम थपिएको महसुस भएको चर्चा गर्दै नेपाली फुटबलका राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि एकेडेमीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाल पुलिस स्कुल फुटबल एकेडेमीका अध्यक्ष प्रहरी उपरीक्षक हेम कुमार थापा, विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले पनि आआफ्नो विचार राखेका थिए ।
एकेडेमी उद्घाटनको अवसरमा एकेडेमीमा आवद्ध खेलाडीहरूद्वारा प्रदर्शनी खेल तथा विद्यार्थीहरुद्वारा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, एन्फाका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, सञ्चारकर्मी, शिक्षक–शिक्षिका एवम् प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
Categorized in स्पाेर्ट्स