रुस–युक्रेन युद्धमा १३७ जनाको मृत्यु
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १३, शुक्रबार

काठमाडौं । रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७ नागरिकको मृत्यु भएको बताएका बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार रुसी सेनाले युक्रेनका पूर्व, उत्तर र दक्षिणतर्फबाट आक्रमण सुरु गरेको हो । हवाई सेनाले क्षेप्यास्त्र तथा बम प्रहार गरिरहेको छ । युक्रेनको राजधानी किभसहित १२ स्थानलाई लक्षित गर्दै रुसी सेनाले आक्रमण तीव्र पारेको छ । पूर्वी क्षेत्रमा क्षेप्यास्त्र र बम प्रहार गर्दै रुसी हवाई सेना प्यारासुटबाट ओर्लेका थिए । त्यस्तै, बेलारुस र क्रिमियाबाट पनि दर्जनौं ट्यांकसहित रुसी सैनिक युक्रेनी क्षेत्रमा प्रवेश गरेका छन् ।
युक्रेनी सेनाले आफ्नो जवाफी कारबाहीमा रुसी सेनातर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ । रुसका कम्तीमा ५० सैनिक मारिएको उसको भनाइ छ । रुसी सेनाका ६ जहाज र एउटा हेलिकोप्टर दनबास क्षेत्रमा खसालेको युक्रेनको दाबी छ । यसको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ । रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकोप्टर खसालिएको दाबीलाई खण्डन गरेको छ । त्यस्तै, पोल्यान्डसँग सीमा जोडिएको पश्चिमी क्षेत्रमा पनि बम प्रहार गरिएको छ ।
बीबीसीका अनुसार राजधानी किभका थुप्रै बासिन्दा सहर छोडेर भागिरहेका छन् । आपत्कालीन संकेतस्वरूप साइरन बज्न थालेपछि स्थानीय बासिन्दा किभबाट बाहिरिन थालेका हुन् । जसका कारण मोल्दोभाको सीमा क्षेत्रमा सयौं सवारीसाधन जम्मा भएका छन् । टेलिभिजनमा प्रसारित दृश्यमा युक्रेनी नागरिकले विभिन्न समूहमा बाँडिएर सडकमा प्रार्थना गरेको देखिन्छ । एजेन्सीहरूले भनेका छन्, ‘मानिसहरू पैसा झिक्न एटीएमअगाडि लाम बसिरहेका देखिन्छन् । पूर्वी युक्रेनस्थित चुगुएफ नजिकैको एउटा सैन्य अखडाबाट निकै ठूलो धूवाँको मुस्लो उडेको देखिन्छ ।’
Categorized in अन्तर्राष्ट्रिय