arin enterprises

रुसले युक्रेनमाथि गरेको आक्रमणको विश्वभरबाट निन्दा र विरोध

SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण १४, शनिबार

युक्रेनका विभिन्न स्थानमा बिहीबारदेखि सैन्य कारबाही थालेपछि रुसको आलोचना मात्रै बढेको छैन, विभिन्न मुलुकमा विरोध प्रदर्शन भइरहेका छन् ।

प्रदर्शन रुसभित्रै पनि सुरु भएको छ । यस्ता प्रदर्शनहरूमा हालसम्म ७ सयभन्दा बढी पक्राउ परेको बीबीसीले लेखेको छ । अमेरिका र युरोपेली मुलुकले रुसी कदमको कडा आलोचना गर्दै विभिन्न प्रतिबन्धको घोषणा नै गरिसकेका छन् ।

चौतर्फी आलोचना बढेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा लागेका छन् । त्यसका लागि उनले विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँगको संवादलाई तीव्रता दिएका हुन् । युद्धको चपेटामा परेको युक्रेनी जनताहरु आप्mनो ठाउँ छोडी अन्यत्र शरण लिन बाध्य भइरहेका छन् । 

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गरेका छन् । अफवाहलाई निस्तेज पार्न उनी आफैँ राजधानी कीभको सडकमा पुगेरभिडिओ खिच्दै ट्विटरमा प्रेषित गरेका छन् ।

युक्रेनको सेनाले अहिलेसम्म रुसका ३५ सयभन्दा बढी सेनाको मृत्यु भइसकेको दाबी गरेको छ । सैन्य क्षतिबारे फेसबुकमा प्रकाशित विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको र झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ । युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १ सय २ वटा ट्याङ्क पनि गुमाएको छ बीबीसीले जनाएको छ ।

रुसले आफ्नोतर्फ भएको मानवीय क्षतिको भने कुनै विवरण सार्वजनिक गरेको छैन । त्यसैगरी, रुसी सैनिकहरूले दक्षिणी युक्रेनको मिलिटोपोल नगर नियन्त्रणमा लिएको रुसको रक्षा मन्त्रालयलाई उद्धृृत गर्दै समाचार रुसी समाचारसंस्था इन्टरफ्याक्स र स्पुत्निकले प्रकाशित गरेका छन् । मिलिटोपोल युक्रेनको मुख्य बन्दरगाह मारिऊपोलनजिकै रहेको एउटा मध्यम आकारको शहर हो 

यसैबीच रुसले संयुक्त राष्ट्रसंघको बैठकमा चीनको समर्थनमा भिटो प्रयोग गरी युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध निन्दा प्रस्ताव अघि बढ्न दिएन । संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये ५० राष्ट्रले संयुक्त विज्ञप्ती जारी गरी रुसमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषद‌्मा  रुसले भिटो प्रयोग गरी शक्तिको दुरुपयोग गरेको आरोप अमेरिका लगायतका ५० राष्ट्रले लगाएका हुन् ।

प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए भने चीन, भारत र युनाइटेड अरब इमिरेट्स युएई तटस्थ बसेका थिए । त्यसपछि रुसले उक्त प्रस्तावमाथि भिटो प्रयोग गरेको थियो । राष्ट्रसंघका ५ स्थायी सदस्य रुस, अमेरिका, चीन, फ्रान्स र बेलायतलाई भिटो प्रयोग गर्न पाउने अधिकार रहेको छ । रुसले भिटो प्रयोग गरेपछि अब उक्त निन्दा प्रस्ताव अघि बढ्ने छैन ।

 

Categorized in अन्तर्राष्ट्रिय