arin enterprises

पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

SamacharDesk | २०७८ फाल्गुण १६, सोमबार

पदमा बहाल रहँदा स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोगले मुद्दा दायर गरेको छ ।

पूर्वसचिव समेत रहनुभएका श्रेष्ठले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

विभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भई ८ माघ २०६४ मा अनिवार्य अवकाश पाउनुभएका श्रेष्ठ ६ कात्तिक २०६९ देखि २९ माघ २०७० सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्री हुनुभएको थियो । अख्तियारले उहाँमाथि ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बिगो दाबी गरेको छ ।

श्रेष्ठ शिक्षक पदबाट १८ चैत २०२६ सालमा सेवामा प्रवेश गरी २६ कात्तिक २०३६ मा शाखा अधिकृत पदमा नियुक्त हुनुभएको थियो । श्रेष्ठ सार्वजनिक सेवा प्रवेश गरेको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा कुल आय आर्जन ६ करोड ९० लाख १६ हजार ६२७ देखिएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

श्रेष्ठ शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव (विशिष्ट श्रेणी) तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफनो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको खख्तियारको दाबी छ ।

Categorized in राष्ट्रिय