arin enterprises

श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतद्वारा क्लिनस्वीप

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १६, सोमबार

भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप गरेको छ ।

गएराति भएको अन्तिम तथा तेस्रो खेलमा भारतले श्रीलंकालाई ६ विकेटले हराउँदै ३ खेलको सिरिजमा ३–० ले क्लिनस्वीप गरेको हो।

१ सय ४७ रनको मध्यम विजयी लक्ष्य पाएको भारतले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतको सहज जितमा श्रेयस ऐरले ४५ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ७३ रन बनाए अविजित रहे। यो उनको लगातार तेस्रो अर्धशतक हो ।

यसअघि दोस्रो खेलमा ७४ रन र पहिलो खेलमा ५४ रनको अविजित इनिङ खेलेका थिए । तीनै खेलमा अविजित अर्धशतकीय इनिङ खेलेको ऐरले कुल २०४ रन बनाए ।

यस्तै ओपनर सन्जु स्यामसनले १८ रन जोड्डा कप्तान रोहित शर्मा र वेंकटेश ऐर समान ५–५ रन बनाएर आउट भए । यस्तै दीपक हुडाले २१ रन जोड्डा रविन्द्र जडेजा २२ रनमा अविजित रहे ।

त्यसअघि धर्मशालामा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।

श्रीलंकाका लागि कप्तान दसुन शनकाले ३८ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन बनाउँदै खेलमा अविजित रहे ।

दिनेश चण्डिमालले २२ रन जोड्दा चामिका करूणारत्नेले १२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिंङमा श्रीलंकाका लाहिरू कुमाराले २ विकेट लिँदा  दुश्मन्था चामिरा र चामिका करुणारत्नेले १–१ विकेट लिए ।

यस्तै भारतका आवेश खानले २ तथा मोहम्मद सिराज, हर्षल पटेल र रवि विश्रोईले १–१ विकेट लिए ।

तीन टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा भारत ६२ रनले र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो।

Categorized in स्पाेर्ट्स