arin enterprises

टुँडिखेल बचाउन ‘अकुपाई टुँडिखेल’

SamacharDesk – करुण राज | २०७६ कार्तिक २१, बिहिबार

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले जनताको आवाज दबाउन कम्यूनिष्ट सरकारले काठमाडौंका खुला ठाउँहरु सिध्याउन लागेको आरोप लगाएका छन् ।

आउँदो शनिबार मंसीर २३ गते हुन लागेको अकुपाई टुँडिखेलको बारे जानकारी दिन काठमाडौंको खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा सांसद प्रधानले यसो भनेका हुन् ।

‘खुला ठाउँमा जनताले आफ्नो आवाज खुला रुपले राख्न सक्छन्’ सांसद प्रधानले भने, ‘जनताले न्यायको लागि आवाज उठाउँछन् भनेर सरकारले नै यसरी काठमाडौंका खुला ठाउँहरु अतिक्रमण गर्न थालेको हो ।’

केन्द्र सरकारले ध्यान नदिँदा टुँडिखेल साँघुरिनुका साथै बिचौलियाको कमाई खाने भाँडो समेत बनेको प्रधानले बताउनुभयो ।

विभिन्न बहानामा काठमाडौंको टुँडिखेलमा भएको अतिक्रमणको विरोध स्वरुप यहि शनिबार टुँडिखेल वरपर मानव साङ्लो बनाइन लागेको छ । अकुपाई टुँडिखेल नाम दिइएको यस विरोध कार्यक्रममा करीब ३ हजार आम नागरिकको सहभागीता रहने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

कार्यक्रम शनिबार बिहान ८ बजेबाट शुरु हुने अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

स्वच्छ हावाको श्रोत, भूमिगत जलभण्डारको पुनर्भरणको श्रोत, एशियाकै ठुलो परेड मैदान टुँडिखेल, एउटा मैदानमात्र नभई साँस्कृतिक सम्पदा समेत भएको संयोजक श्रेष्ठको भनाई थियो ।

‘हाम्रो सँस्कृतिसँग पनि जोडिएको टुँडिखेलमा अहिले बसपार्क बनाइनुका साथै अनधिकृत पसल, भवन, पार्किङ बनाएर, ढलान गरेर यसलाई मास्ने काम भइरहेको छ’ श्रेष्ठले भने, ‘यसलाई बचाउन नसकिए अर्को पुस्ताले यो महत्वपूर्ण क्षेत्र गुमाउनेछ ।’ 

Categorized in राष्ट्रिय