पाकिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, ५६ को मृत्यु
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २१, शनिबार

पाकिस्तानको पेशावरमा रहेको मस्जिदमा शक्तिशाली विस्फोट हुँदा ५६ जनाको मृत्यु भएको छ ।
दुई आतंककारीले मस्जिदभित्र पस्ने प्रयास गर्दा त्यहाँ सुरक्षामा रहेका प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरीको मृत्यु भएको र अर्का गम्भीर घाइते भएको पेशावर प्रहरीले जनाएको छ ।
त्यस लगत्तै मस्जिदभित्र विष्फोट भएको बताउँदै प्रहरीले प्रारम्भिक अनुसन्धानका अनुसार त्यहाँ प्रार्थना गर्नेहरू माथि आत्मघाती हमला भएको उल्लेख गरेकोछ ।
सो आक्रमणमा कम्तिमा १ सय ९५ जना भन्दा बढी घाइते भएको प्रहरी बताएका छन् ।
घाइतेमध्ये कम्तीमा १० जनाको अवस्था गम्भीर रहेकोछ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्जिदमा भएको घातक हमलाको निन्दा गर्नुका साथै घाइतेहरूलाई तत्काल चिकित्सा सहायता उपलब्ध गराउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री खानले विस्फोटबारे सम्बन्धित निकायबाट विस्तृत प्रतिवेदन लिन पनि आग्रह गर्नुभएको छ ।
पछिल्ला महिनाहरुमा पाकिस्तानमा हिंसाका घटनाहरु बढ्दै गएका छन् । अफगानिस्तानसँगको सीमामा रहेका सेनाका चौकीमा आक्रमण हुँदा दर्जनौ सैनिक मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय
