धर्मकीर्ति विहारको विस्तारित भवन उद्घाटन
SamacharDesk | २०७८ फाल्गुण २२, आइतबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भइसकेको दावी गर्नुभएको छ । मेयर शाक्यले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल पनि गरेको छ ।
हिजो काठमाडौंको नःघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग उहाँले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाहरुको पुनर्निर्माणमा पनि सहयोग गरेको बताउनु भयो । उहाँले चुनावमा आफूहरुले गरेको प्रतिवद्धता अनुसार नै सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको दावीसमेत गर्नु भयो । महानगरपालिकाले पूरातात्विक महत्वका सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोही अनुसार काम भइरहेको मेयर शाक्यको भनाइ थियो ।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाले नगर टू नगर साझेदारी कार्यक्रमअन्तर्गत अन्य नगरपालिकाहरुको सम्पदा निर्माणमा पनि सहयोग गरिरहेको बताउनु भयो । कार्यक्रममा उपमेयर हरिप्रभा खड्गीले स्थानीय सरकार भनेको स्थानीयस्तरमा रहेका समस्या समाधान गर्न र आप्mनो ठाउँको पहिचान बढाउनलाई नै हो भन्नुभयो । सम्पदा संरक्षणका योजनाहरु जस्तोसुकै भएपनि मतभेद नहुने उहाँले बताउनुभयो ।
उक्त विस्तारी भवनको लागत ४ करोड २८ लाख रुपैयाँमा निर्माण भएको हो । जसमा ८५ प्रतिशत महानगर र १५ प्रतिशत उपभोक्ता समितिले व्यहोर्ने गरी भवनको पुनर्निर्माण सम्पन्न भएको हो ।
Categorized in स्थानीय