वरिष्ठ पत्रकारहरु सम्मानित
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण २३, सोमबार

११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागले तीन जना वरिष्ठ पत्रकारहरु सम्मान गरेको छ ।
कार्यक्रममा मुख्य अतिथि काठमाडौं महानगरपाकिला मेयर विद्यासुन्दर शाक्यले हाम्रो संविधानले पुरुषहरुलाई जत्तिकै अधिकार महिलालाई पनि नीतिगत र नेतृत्व तहसम्मै ठाउँ दिएको हुनाले पुरुष सँगसँगै हातेमालो गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । मेयर शाक्यले भन्नुभयो, “महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । उहिले महिलाहरुलाई घरकै मात्र काममा सीमित गराइएको थियो । त्यसो भएर घरका महिला र पुरुषहरुले पनि सोही बमोजिम व्यवहार गरिन्थ्यो । तर अहिलेको अवस्था त्यस्तो छैन । घरकी छोरी, बुहारी, आमा र सासुदेखि सक्षम भएका सबैले क्षमता बमोजिमको काम गर्नुपर्ने सोचको विकास भएको छ ।”
त्यस्तै, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले अझै पनि महिलाहरु चुलोमै सीमित हुनु परेको हुनाले सोचे बमोजिमको प्रगति हुन नसकेकोमा गुनासो गर्नुभयो । उपमेयर श्रेष्ठले आजको दिनमा राष्ट्रपति जस्तो उच्च पदमा महिला भइसकेको हुनाले महिलाले चाहने हो भने अवसर रहेको बताउनुभयो ।
कार्यक्रममा आआफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएबापत तीन जना वरिष्ठ सञ्चारकर्मीहरु मञ्जु बज्राचार्य, अनिता गुरुङ तथा पूर्णिमा शाक्यलाई सम्मान गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वरिष्ठ सञ्चारकर्मी अनिता गुरुङले पत्रकारितामा पुरुषले जस्तै महिलाले पनि समान रुपमा श्रम गर्ने हुनाले त्यसमा विभेद गर्न नहुने बताइन् । महिलाहरुको लागि हरेक क्षेत्रमा दया होइन अवसर दिनुपर्नेमा गुरुङले जोड दिएकी थिइन् । तर हामी महिलाले त्यसमा क्षमता विकास गरेर दक्ष हुनपर्ने विचार गुरुङको थियो ।
पत्रकार राष्ट्रिय दबूकी उपाध्यक्ष तथा महिला विभागकी संयोजक रचना श्रेष्ठको संयोजनमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, वरिष्ठ सञ्चारकर्मी मञ्जु बज्राचार्य, पत्रकार राष्ट्रिय दबूका केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्य, सहसचिव प्रेरणा शाक्य लगायतले आआफ्नो विचार पोखेका थिए । खुसिबुँस्थित नेपाः बैंक्वेटमा सम्पन्न कार्यक्रममा सल्लाहकारद्वय रमेश काजी स्थापित, विजयरत्न असंबरे, किरण शाक्य, काठमाडौं जिल्ला अध्यक्ष अरविन मान सिंह, काभ्रेका अध्यक्ष सिद्धिबहादुर कर्माचार्य लगायतको सहभागिता थियो ।
Categorized in स्थानीय
