arin enterprises

‘बुलाकी’मा गाउँले भूमिकामा सुरक्षा पन्त

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण २५, बुधबार

जारी प्रथामाथि आधारित चलचित्र ‘बुलाकी’मा अभिनेत्री सुरक्षा पन्त दुर्गम गाउँकी एक विपन्न महिलाको भूमिकामा देखिएकी छिन् ।

मङ्गलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण पक्षले सार्वजनिक गरेको फर्स्टलुकमा अभिनेत्री पन्तको ग्रामीण महिलाको भूमिका देखाइएको छ ।

सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्रीले पछ्यौरीले शिर ढाकेकी र नाकमा बुलाकी लगाएकी देख्न सकिन्छ । लक्ष्मण सुनासको निर्देशनमा तयार भएको चलचित्रमा कर्णाली भेगको जनजीवन समेटिएको बताइएको छ ।

टोपेन्द्र विष्टको निर्माण र स्वर्गीय मोती विष्टको प्रस्तुति रहेको यस चलचित्रमा डोल्पा, जाजरकोट र रुकुमका दृश्यहरू देख्न सकिन्छ ।

चलचित्रमा सुरक्षा पन्तसँगै नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्रीलगायतको अभिनय रहेको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा सौगात कँडेल सह–निर्माता रहेको यस चलचित्रमा शिव ढकालले छायाँकन गरेका हुन् । निर्देशक सुनारको कथा रहेको यस चलचित्रमा मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको सङ्गीत रहेको छ ।

फिल्मको टिजर र प्रदर्शन मिति पनि चाँडै सार्वजनिक गरिने निर्माता विष्टले बताएका छन् ।

तस्बिर साभार – अभिनेत्री सुरक्षा पन्तको फेसबुकबाट

Categorized in पेजथ्री