अष्ट्रेलियालाई पाकिस्तानले रोक्यो बराबरीमा
SamacharDesk – रक्षण राजाेपाध्याय | २०७८ फाल्गुण २५, बुधबार
पाकिस्तान तथा अष्ट्रेलिया बिचको पहिलो टेष्ट म्याच बराबरीमा सकिएको छ ।
चौबीस वर्षपछि पहिलोपटक पाकिस्तान भ्रमणमा पुगेको अष्ट्रेलियाले पहिलो टेस्ट म्याच बराबरीमै चित्त बुझाउनु परेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको थियो । पाकिस्तानको लागि पहिलो पारीमा इमाम उल हकले १५७ रन जोडे भने अजहर अलिले १८५ रनको योगदान दिए । ४ विकेट गुमाउँदै ४७६ रनको विशाल योगफल बनाइ पाकिस्तानले पारी समाप्तीको घोषणा गरेको थियो ।
अष्ट्रेलियाका लागि नेथन लियोन, कप्तान प्याट कमिन्स तथा मार्नुस लाबुचेनले एक एक विकेट लिएका थिए । पिन्डि क्रिकेट स्टेडियममा आफ्नो पहिलो पारीमा अष्ट्रेलियाले भने सबै विकेट गुमाउँदै ४५९ रन बनाए ।
अष्ट्रेलियाका लागि उस्मान खवाजाले ९७, डेबिड वार्नरले ६८, मार्नुस लाबुचेनले ९० रन जोडे । त्यस्तै स्टिभ स्मिथले ७८ र क्यामरुन ग्रीनले ४८ रनको योगदान दिए ।
बलिङ्गतर्फ पाकिस्तानका लागि नौमान अलिले ६ विकेट लिए भने साहिन अफ्रिदिले दुई, साजिद खान तथा नसिम शाहले एक एक विकेट लिएका थिए ।
पहिलो पारीको आधारमा पाकिस्तानले १७ रनको अग्रता लिएको छ । साथमा आफ्नो दोस्रो पारीमा कुनै विकेट नगुमाई अबदुल्लाह सफिकको १३६ र इमाम उल हकको १११ रनको मद्दतले २५२ रनमा खेल सकाएको छ ।
आफ्नो दुबै पारीमा सतकीय पारी खेलेका इमाम उल हक प्लेयर अफ द म्याच घोषित भएका छन् ।
Categorized in स्पाेर्ट्स