लेवान्डोस्कीको ह्याट्रिकसँगै बायर्न अन्तिम आठमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २५, बुधबार

जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ
मंगलबार राति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा अष्ट्रियन क्लब रेडबुल साल्सबर्गलाई ७–१ गोल अन्तरले हराउँदै समग्रमा ८–२ को जितसँगै बायर्न क्वाटरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा बायर्न र साल्सबर्गले १–१ गोलको बराबरी खेलेको थियो ।
घरेलु मैदानमा बायर्नले खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दबाबमा राखेको थियो ।
खेलको १२ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बायर्नलाई दिलाएका थिए । २१ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी बाटै व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । २३ औं मिनेटमा पुनः लेवान्डोस्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बायर्नको अग्रता तेब्बर बन्यो ।
सर्जी जिनाब्रीले ३१ औं मिनेटमा र थोमस मुलरले ५४ औं मिनेटमा गोल गरेपछि बायर्नले ५–० को अग्रता बनाए ।
खेलको ७० औं मिनेटमा साल्सबर्गका केजरगार्डले गोल गर्दै खेल ५–१ को स्थितिमा ल्याए ।
८३ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ६–१ को बनाए ।
त्यसपछि ८६ औं मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई ७–१ को जित दिलाए ।
Categorized in स्पाेर्ट्स