arin enterprises

चैतबाट मेलम्चीको पानी काठमाडौंको धारामा

SamacharDesk | २०७८ फाल्गुण २७, शुक्रबार

गत असार १ गतेको मेलम्ची खोलाको बाढीले बन्द भएको मेलम्ची खानेपाली आयोजना आउँदो चैतबाट सुचारु हुने भएको छ । 

बाढीबाट हेडवक्र्स, अडिट सुरुङ पुरिनुका साथै सडक र पुललगायतका भौतिक संरचनाहरू भत्किए पछि उपत्यकावासीहरुले तीन दशकको पर्खाइ पछि मेटिएको तिर्खा केही महिना नपुग्दै फेरी काकाकुल हुनुपरेको थियो । तर अब भने आउँदो चैतमा मेलम्चीको पानी काठमाडौँका धाराहरुमो आउने भएको छ ।

वैकल्पिक पथान्तरण प्रणालीमार्फत चैतमा पानी पठाउने गरी काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्स र सुरुङ सफाइको काम अन्तिम चरणमा पुगेकाले चैतमा पानी पठाउन सकिने देखिन्छ । हाल बाढीले जम्मा गरेको गेग्य्रान हटाउने र भत्किएका संरचनाको निर्माण कार्य भइरहेको छ । 

चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले बाढीले थुपारेको ६० हजार मेट्रिक टन गेग्य्रान पन्छाउने काम गरिरहेको छ । आयोजना स्थलमा १२ वटा डोजर, २२ टिप्पर र एक्साभेटरले परिचालन भएका छन् । मेलम्चीमा आगामी वर्षात्हरूमा पनि बाढी आउन सक्ने जोखिम कायमै देखिन्छ । बाढीको रोकथाम तथा क्षति न्यूनीकरणका लागि भौगर्भिक रूपमा अध्ययन भइरहेको आयोजना प्रमुले जानकारी दिनुभयो ।

बाढीले आयोजनाको प्रवेश मार्गको चनौटेदेखि अम्बाथानसम्म आठ किलोमिटर सडक बगाएको थियो । चनौटेसम्मका सडकमा आंशिक क्षति पुगेको थियो । गेग्य्रान र ब्लास्टिङ गरेर निस्केका गेग्य्रान सडक निर्माणमा प्रयोग गरिएको आयोजनाले जनाएको छ ।

बाढीले बगाएका आयोजनाका पुलहरू निर्माण भइरहेका छन् । बाढीले एक अर्ब ८८ करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आयोजनाले निकालेको थियो । हालसम्म उक्त आयोजना निर्माणमा ३५ अर्ब रुपियाँ लगानी भइसकेको छ । २०७७ चैत १५ गते मेलम्चीको पानी उपत्यकामा परीक्षणस्वरूप वितरण गरिएको थियो ।

Categorized in राष्ट्रिय