arin enterprises

भारतको दिल्लीसँगै पञ्जाबमा पनि 'आप'लाई बहुमत

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण २७, शुक्रबार

भारतमा सम्पन्न विधानसभा निर्वाचनमा अरविन्द केजरीवालको आम आदमी पार्टी (आप)ले दिल्लीपछि पञ्जाबमा पनि बहुमत हासिल गरेको छ ।

बिहीबार पाँचवटा भारतीय राज्यमा विधानसभा चुनावको मतगणना भइरहेको छ। तीमध्ये पन्जाबमा केजरीवाल नेतृत्वको आपले दुई–तिहाइभन्दा बढी बहुमत ल्याएको हो । भारतीय मिडियाका अनुसार ११७ सिटमध्ये आपले ९२ सिट जितेको छ । पन्जाबमा सरकार बनाउन ५९ सिट भए पुग्छ । आपले झन्डै ७९ प्रतिशत सिट जितेको हो ।

पन्जाबमा हाल कंग्रेस आईको सरकार छ । कंग्रेसले जम्मा १८ सिट मात्रै जितेको छ । सिरोमनी अकेली दल (एसएडी)ले तीन, भारतीय जनता पार्टी (भाजपा)ले दुई र अन्य दलले दुई सिट जितेका छन् । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

जितपछि पार्टी अध्यक्ष केजरीवालले पन्जाबका जनतालाई धन्यवाद दिएका छन् ।

वैकल्पिक राजनीति थालेको १० वर्षमा आपले दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको हो । भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब पन्जाबमा पनि सरकार बनाउनेछ । दिल्लीमा पनि आपले विधानसभा चुनावमा झन्डै ९० प्रतिशत सिट जितेको थियो । सन् २०२० मा भएको विधानसभा चुनावमा आपले ७० मध्ये ६२ सिट जितेको थियो ।

पन्जाबमा अब आपका नेता भगवन्त मान मुख्य मन्त्री बन्नेछन् ।

सन् २०१७ मा भएको विधानसभा चुनावमा कंग्रेसले ७७ सिट जितेको थियो । पार्टीको आन्तरिक विवाद सम्हाल्न नसक्दा केही महिनाअघि मात्रै मुख्यमन्त्री अमरिन्दर सिंहले पार्टी छोडेका थिए । विभाजित भएको कंग्रेसले अहिले १८ सिट मात्रै जितेको हो ।

कंग्रेसका नेता राहुल गान्धीले जनताले गरेको निर्णयलाई नम्रताका साथ स्वीकार्ने बताएका छन् । उनले बिहीबार ट्विट गर्दै विधानसभा चुनावमा जितेका नेताहरूलाई बधाइ समेत दिएका छन्।

Categorized in अन्तर्राष्ट्रिय