arin enterprises

स्थानीय निर्वाचनमा ७९ दलहरुले प्रतिस्पर्धा गर्ने

SamacharDesk | २०७८ फाल्गुण २८, शनिबार

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगले एक करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली तयार गरी स्थानीय तहको सबै वडामा फागुन १९ गते अद्यावधिक दावी विरोधका लागि सूचना टाँस गरिएको जानकारी दिएको छ । आयोगका अनुसार, सबैभन्दा बढी मोरङमा सात लाख १७ हजार ६७ मतदाता छन् भने सबैभन्दा कम मनाङमा छ हजार ५७१ रहेका छन् ।

सबैभन्दा कम ४५० मतदाता भएको स्थानीय तह मनाङको नार्पाभूमि हो भने काठमाडौँ महानगरपालिका सबैभन्दा बढी तीन लाख ५८७ मतदाता भएको स्थानीय तह हो । आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा तीन तहकै सरकारलाई निर्वाचनसम्बन्धी कार्यमा आवश्यक सहयोग, सहकार्य, समन्वय र तयारीका लागि २४ विषय समावेश गरी निर्देशन हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलाई लेखी पठाएको छ ।

आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाख बराबरको सामूहिक दुर्घटना बीमा स्वीकृत भएको जानकारी दिएको छ । निर्वाचन कार्यतालिका अनुसार, निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतपत्र छपाइ कार्य गर्न सम्भव नभएकाले आगामी चैत १६ देखि वैशाख २० गतेसम्म मतपत्र छपाइ गरी मुख्य निर्वाचन कार्यालयमा पठाइ सक्ने बताएको छ ।

प्राविधिक समितिले दिएको सुझावका आधारमा आगामी स्थानीय तह निर्वाचनमा सेतो कागजमा हरियो रङ्गको निर्वाचन चिह्न र विवरण छपाइ गर्न आवश्यक प्रक्रिया अघि बढाइएको पनि आयोगले स्पष्ट पारेको छ ।

Categorized in राष्ट्रिय