arin enterprises

नेवाः पत्रकार राष्ट्रिय दबूमा सुरजबीरको नेतृत्व

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ कार्तिक ३०, शनिबार

पत्रकार साथै चर्चित गायक सुरजबीर बज्राचार्य नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा निर्वाचित भएका छन् । दबूको काठमाडौंमा शनिबार सम्पन्न तेश्रो महाधिवेशनले बज्राचार्यलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो ।

निर्विरोध निर्वाचित २९ सदस्यीय दबूको नयाँ कार्यसमितिको उपाध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ, सन्दिप श्रेष्ठ (चितवन) र रचना श्रेष्ठ (महिला) रहेका छन् ।

महासचिवमा फेरी पनि सुनिल महर्जन र कोषाध्यक्षमा सुरेन्द्रभक्त महर्जन चयन भएका छन् । सचिवमा पनि केके मानन्धर नै निरन्तर भएका छन् । सह सचिवमा भने राजु नापित र प्रेरणा शाक्य अनि सह कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ रहेका छन् । 

सदस्यहरुमा नवीन जोशी, विजयराम कर्माचार्य, भाईकाजी महर्जन, बिराजकाजी राजोपाध्याय, प्रजित शाक्य, पूर्णभक्त दुवाल, अनुप प्रधान, तेजनारायण महर्जन, विगेन तुलाधर, श्याम तण्डुकार र विनय प्रधान रहेका छन् । 

महिला सदस्यहरुमा हसना लवजु, रुबि श्रेष्ठ, सुनिता महर्जन, मीना बज्राचार्य, अनिता डंगोल र नीशा श्रेष्ठ चयन भए ।

दबूको महाधिवेशनमा यसपल्ट चुनावी प्रतिस्पर्धा नै हुने देखिएको थियो । साविक उपाध्यक्षद्वय नृपेन्द्रलाल श्रेष्ठ र सुरजबीर बज्राचार्य दुबैको अध्यक्ष पदमा दावी रहँदै आएको थियो ।

दुबै दावेदार प्यानलसहित चुनावी मैदानमा उत्रने चर्चा भइरहेको थियो भने अन्तिम समयमा आएर नृपेन्द्रलाल श्रेष्ठ पछि हटिदिएर सहमतिको वातावरण निर्माण गरिदिएका थिए ।

 

पाँच पत्रकार सम्मानित

यसभन्दा अघि महाधिवेशनको उद्घाटन सत्रमा पाँच जना पत्रकार सम्मानित भएका थिए ।

काभ्रे निवासी वरिष्ठ पत्रकार मोहन दुवाललाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार प्रदान गरियो । त्यसैगरी मध्यपुर थिमि निवासी राससकर्मी रत्न श्रेष्ठलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार प्रदान गरियो । 

काठमाडौं निवासी कान्तिपुरकर्मी हिमेसरत्न बज्राचार्यलाई भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो भने सुनसरी धरानका वरिष्ठ पत्रकार याम प्रधानलाई ज्ञानदेवी स्थापित स्मृति पत्रकारिता पुरस्कार र झापा धुलाबारीका वरिष्ठ पत्रकार अमृतलाल श्रेष्ठलाई ज्ञानदेवी लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो ।

सम्मानित पाँचै जनालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभयो । प्रत्येक पुरस्कारको राशि रु. दश, दश हजारको थियो ।

 

‘मेयर बनाउँदै जाने, उपमेयर भत्काउँदै जाने’

नेवाः पत्रकार राष्ट्रिय दबूको महाधिवेशन उद्घाटन सत्रलाई सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगरको विकासका लागी राजनीतिक पूर्वाग्रहलाई विर्सेर अगाडी बढ्नपर्ने बताउनुभयो ।

काठमाडौंको विकासका लागि अघि बढाइएका थुप्रै योजनाहरु राजनीतिक साथै विभिन्न पूर्वाग्रह राखेर रोक्ने गरिएको मेयर शाक्यले गुनासो गर्नुभयो ।

मेयर बनाउँदै जानखोज्दा उपमेयर भत्काउँदै जान थालेको शाक्यले आरोप दिनुभयो । ‘हाल खुल्लामञ्चमा सञ्चालन भइरहेको बसपार्कमा वर्षातको बेला हिलाम्मे हुने भएको हुँदा सर्वसाधारणलाई सुविधाको लागि प्लास्टर गर्न लगाएँ । उपमेयरले त्यसको विरोध गर्दै सबै भत्काइदिए’ शाक्यको भनाई थियो । ‘मेयर बनाउँदै जाने, उपमेयर भत्काउँदै जाने भएपछि काठमाडौं कहिले बन्छ त ?’

आफु रक्षामन्त्री रहँदा टुँडिखेलमा सेनालाई भवन बनाउने अनुमति दिने कांग्रेस सांसद भीमसेनदास प्रधानले अहिले आएर त्यसको दोष आफुमाथि लगाउँदा अचम्भित भएको भनाई पनि शाक्यले राख्नुभयो ।

कार्यक्रमको उद्घाटन प्रदेश ३ का सांसद राजेश शाक्य र जीवन डंगोलले संयुक्त रुपमा पानसमा बत्ती बालेर गर्नुभयो ।

कार्यक्रममा प्रदेश ३ का सांसद राजेश शाक्य, जीवन डंगोल, नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राई, नेपाल प्रेस काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, दबूका सल्लाहकार विजयरत्न तुलाधर, समाजसेवी सुरबहादुर श्रेष्ठ लगायतले दबूको महाधिवेश सफलताको शुभकामना सहितको मन्तव्य राखेका थिए ।

Categorized in राष्ट्रिय