arin enterprises

संसद अन्त्य गर्न सिफारिस

SamacharDesk | २०७८ चैत्र १, मंगलबार

संसद अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

संसदको यो अधिवेशनमा शुरुदेखिनै एमालेको अवरोधका कारण चल्न सकेको थिएन । प्रारम्भदेखि नै प्रतिपक्षी एमालेले संसदमा नाराबाजी र अवरोध गर्दै आएको थियो । १४ सांसदमाथि गरिएको कारबाहीले पूर्णता पाउनुपर्ने र सभामुख सापकोटाले राजीनामा दिनुपर्ने मागसहित एमालेले संसदमा नारावाजी र अवरोध गर्दै आएको थियो ।

तर एमालेको नारावाजीकै बीच प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो । त्यस्तै यही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । तर छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।

Categorized in राष्ट्रिय