arin enterprises

बसन्तपुरमा मापदण्ड विपरित बनाएको कंक्रिट संरचना भत्काइयो

SamacharDesk | २०७८ चैत्र १, मंगलबार

नेपालको झण्डा फहराउने उद्देश्यले विश्व सम्पदा क्षेत्र बसन्तपुर डबलीमा निर्माण गरेको कंक्रिट संरचना भत्काएको छ । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित बनाएको कंक्रिट संरचना भत्काउन महानगरकी उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभाग, अभियन्ता र स्थानीयहरुको उपस्थितिमा संरचना भत्काउन शुरु भएको हो ।

झण्डा राख्न बनाइएको ८ वटा कंक्रिटको आधार संरचनामा रहेको नटबोल्ट काटेर संरचना भत्काउने कार्यको सुरु भएको थियो । बाँकी रहेको कंक्रिट संरचनालाई डोजर लगाएर भत्काउने विभागले जनाएको छ । महानगरपालिकाका मेयर नै सम्पदा मास्न उद्दत रहेको भन्दै उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा रहेका क्षेत्रभित्र खेलवाड हुन नदिने बताउनुभयो ।
युनेस्को र पुरातत्वको मापदण्ड विपरीतका करिब ३ फिट गहिरो ८ वटा अनाधिकृत कंक्रिट संरचना महानगरले रातारात निर्माण गरेका थियो ।

विश्व सम्पदा क्षेत्रमा कुनै पनि नयाँ संरचना बनाउन नपाइने नियमका कारण क्रक्रिट संरचना हटाउन लागिएको हनुमानढोका दरवार हेरचार अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिनुभयो । अभियन्ता र स्थानीयले सम्पदाको संरक्षण गर्ने ब्यक्ति नै सम्पदा मास्न लागेको भन्दै काठमाडौं महानगरका मेयरले माफी माग्नु पर्ने माग गरेका छन् ।

पुरातत्वले महत्व बोकेका संरचनाहरु, हाम्रो संस्कृति, सम्पदाहरुको रक्षा गर्ने र त्यसलाई बचाइराख्ने अभिभारा बोकेको महानगरपालिकाले नै यस्ता ऐतिहासिक क्षेत्रमा कंक्रिटका संरचनाहरु बनाउन थालेपछि रक्षक नै भक्षक भएको भन्दै महानगरपालिकाको चर्काे आलोचना हुन थालेको छ ।

 

Categorized in स्थानीय