arin enterprises

रंगहरुको पर्व होली मनाउँदै

SamacharDesk – Ram Dangol | २०७८ चैत्र ३, बिहिबार

रंगहरुको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा आज हर्षोल्लासपूर्वक फागू पूर्णिमा अर्थात होली मनाईदै छ ।

हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली र पहाडी जिल्लामा फागुपर्व मनाईदै छ भने तराइ भेगमा भोलि होली मनाइने छ । यस दिनमा आफन्तजन तथा मन मिलेका साथीबीच प्राकृतिक रङ लगाएर यो पर्व मनाउने गरिन्छ । फागू पूर्णिामाको अवसरमा हिजो नै पशुपतिनाथलाई भक्तजनले लोला प्रहार गरेर अबीर चढाएका छन् ।
गत विहीबार वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा र्पुयाई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुने बताइन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले विष दलिएको आप्mनो स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख रहेको छ ।

वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको छ  वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

Categorized in राष्ट्रिय