राजपत्रमा निर्वाचन आचारसंहिता प्रकाशित
SamacharDesk | २०७८ चैत्र ४, शुक्रबार

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो ।
स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गतेका लागि तोकिएको छ । यो चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधि पनि उम्मेदवारका दावेदार छन् । तर हाल वहाल रहेका जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता बनाएको हो । यस्तै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा डिजिटल बोर्ट, फ्लेक्स र ग्लोसाइन बोर्ट राखेर प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको छ ।
राजपत्रमा बिहीबार प्रकाशित निर्वाचन आचारसंहितामा डिजिटल बोर्डबाट हुन सक्ने प्रचार रोक्न यस्तो प्रावधान राखेको हो । उम्मेदवारको कार्यालयमा राखिने तुलको कपडामा बनाईएको ३÷३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा राखिएको छ । आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नु ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान राखिएको छ । उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचानको विवरण खुलाई वितरण गर्न पाइने प्रावधान छ ।
घरधनीको अनुमति नलिई कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोलमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने संहितामा समेटिएको छ । निर्वाचन प्रचार प्रसारको काम पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ । राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले सवारी साधन प्रयोगमा पनि कडाई गरेको छ ।
सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाइने, निर्वाचन अधिकृतको अनुमति लिएर एक जना उम्मेदवारले बढीमा दुई वटासम्म चार पाङग्रे सवारी साधन र सवारी नचल्ने ठाउँमा चारवटा घोडा प्रयोग गर्न पाइने व्यवस्था गरेको छ । राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने हुन्छ आचारसंहिता कार्यान्वयन गराउन आयोगले स्थानीय तहसम्म अनुगमन समिति गठन गर्ने भएको छ । केन्द्रमा भने निर्वाचन आयुक्तको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति गठन हुनेछ ।
Categorized in राष्ट्रिय