आज विश्व जल दिवस मनाइँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ८, मंगलबार

आज विश्व जल दिवस, विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।
यसै सन्दर्भमा आज विहान नेपाल सरकारको खानेपानी मन्त्रालयलगायतका निकायले पनि सुन्दरीजलमा कार्यक्रम आयोजना गरेको थियो ।
सन् १९९२ मा संयुक्त राष्ट्र सङ्घले ब्राजिलको रियो द जेनेरियोमा आयोजना गरेको पर्यावरण विकास सम्बन्धी महासभामा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष मार्च २२ लाई विश्व पानी दिवसको रूपमा घोषणा गरेको थियो । यहि घोषणा पछि सन् १९९३ देखि हरेक वर्ष मार्च २२ का दिन विश्वभर यो दिवस मनाउन थालिएको हो ।
पृथ्वीको दुई तिहाइ भाग पानीले ढाकेको छ । जसमध्ये ९७.५ प्रतिशत पिउन योग्य छैन भने २.५ प्रतिशत पानी मात्र स्वच्छ र पिउन योग्य छ ।
पृथ्वीमा भएका हरेक जीवनको लागि पानी अपरिहार्य तत्व हो । पानी विना कुनै पनि जीवन सम्भव छैन ।
विश्वमा जलश्रोतको धनी देशको तालिकामा ब्राजिल पहिलो नम्बरमा छ भने नेपाल दोस्रो स्थानमा रहेको बताइन्छ ।
तर जलश्रोतको दोश्रो धनी भनिएको देश नेपालको गाउँमात्र होइन, शहरहरु र राजधानी काठमाडौंमासमेत खानेपानीको ठुलै समस्या छ ।
एउटा सभ्यताकै पहिचान दिने वागमतीसँगै विष्णुमति, रुद्रमतिलगायतका खोलानाला ढलमा परिणत भएको अवस्था छ ।
काठमाडौंलाई हाल आएर काकाकुल भनेरसमेत भनिन थालेको छ । सरकारले घरघरमा दिएको खानेपानीको धाराहरु सुकेका छन् भने यदाकदा खानेपानीको धारबाट आउने पानीले पुरै घर दुर्गन्धित हुने गरेको गुनासो आम सर्वसाधारणको रहेको छ ।
पुर्खाले दुरगामी सोच राख्दै बनाएका ढुङ्गेधारा लगायतका खानेपानीका श्रोत कथित विकासको चपेटामा परेर सुक्न थालेका छन् ।
मौलिक हकको रुपमा आम नागरिकले स्वच्छ पानी खान पाउने अधिकार संविधानमै सुनिश्चित गरिएको छ । तर यो अधिकार संविधानको कितावमा अक्षरमा मात्रै सीमित हुन गइ कार्यान्वयन हुन सकेको छैन ।
Categorized in राष्ट्रिय