arin enterprises

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु कुर्न पैसा पर्ने

SamacharDesk – राम डंगोल | २०७८ चैत्र १०, बिहिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुको पर्खाइमा बस्ने कुरुवाले पैसा तिरे मात्र कुरुवा बस्न पाउने भएका छन् ।

यात्रु कुर्नका लागि डिलक्स हलका लागि एक सय र सुपेरियर हलका लागि ५० रुपैयाँ तोकेर असुल गर्दै आएको छ । पैसा तिर्न नसक्ने हो भने बाहिर रेलिङको बारमा उभिएर यात्रु कुर्नुपर्ने बाध्यता छ ।  

विमानस्थलले ५१ रोपनी क्षेत्रफल जग्गा निजी संस्था आइएमएस कम्पनीलाई ३० वर्षका लागि लिजमा दिएको छ ।

कम्पनीले आफ्नो व्यापारिक दृष्टिले रकम तोकेर व्यवस्थित र सुविधा सम्पन्न विश्रामस्थल निर्माण गर्ने भन्दै यात्रु कुरुवाहरुबाट ५० र एक सय रुपियाँ शुल्क लिने गरेको छ ।

कुरुवाहरुले भने रकम असुल गरेको भन्दै तत्काल बन्द गर्न माग गरेका छन् । पैसा तिरेर सुविधासम्पन्न कोठामा बस्दा पनि भीड हुने र यसले सबैलाई असर पु(याउने उक यात्रु कुरुवा बताउनुभयो ।

उहाँले भन्नुभयो, पर्यटक लिनका लागि दिनमा १० पटकसम्म विमानस्थल पुग्नुपर्ने हुन्छ । बाहिर उभिएर बस्न सकिन्न भित्र गएर बस्दा महँगो भयो, यसलाई निस्शुल्क र सहज बनाउन उहाँले माग गर्नुभयो ।

अन्य देशका विमानस्थलमा सुविधा दिने गरेको तर हामीले पानीसमेत पिउन नपाउने अवस्था छ, तर पैसा तिरेर मात्र सुविधा लिन पाउने व्यवस्थाले सरकारमाथि प्रश्न गर्नुपर्ने देखिएको यात्रुहरुको भनाइ छ ।

बस्नलाई पैसा दिनुपर्ने, एक सय रुपियाँ तिरेमात्र भित्र जान पाउने यो परिपाटीले विमानस्थलमा आउनेहरु दुई स्तरका मानिस हुने गरेको आरोप कुरुवाहरुको छ । तर विमानस्थलले भने कुरुवाका लागि घामपानीबाट बच्न सक्ने व्यवस्था गरेको छ ।

पूर्वाधार निर्माण गरेर व्यवस्थित गरी सहुलियत दरमा शुल्क लिन पाउने गरी सरकारले कम्पनीलाई लिजमा दिएको विमानस्थलले जनाएको छ ।

भन्सार क्षेत्र, पार्किङ शुल्क, कोठा बहाललगायतका सेवाबाट शुल्क लिन पाउने व्यवस्थता रहेको जनाएको छ ।

Categorized in राष्ट्रिय