नास्टले बनायो विद्युतीय स्कुटर
SamacharDesk | २०७८ चैत्र २४, बिहिबार

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले विद्युतीय स्कुटरको निर्माण गरेको छ । सो स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने नास्टले जनाएको छ ।
नेपालको माटो र बाटो सुहाउँदो मोडल बनाएको दाबी गर्दै प्रतिष्ठानले व्यावसायिक रुपमा कारखाना नै स्थापना गरेर स्कुटर उत्पादन गर्न चाहनेलाई मार्ग प्रशस्त गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा एक पटक चार्ज गर्दा एक हजार किलोमिटर गुड्ने विद्युतीय सवारीसाधन उपलब्ध भइसकेको छ । विद्युतीय सवारी साधनको निर्माणमा चीन र भारत दुवै देशले ठूलो प्रगति गरिसकेका छन् ।
नेपालका सडकमा पनि विभिन्न मोडलका विद्युतीय सवारीसाधन गुडन थालिसकेका छन् ।
पेट्रोलियम पदार्थको दिनानुदिन मूल्यवृद्धिबाट आजित उपभोक्ताहरु अब विद्युतीय साधनतर्फ लम्किरहेको अवस्थामा यसको निर्माणले उपभोक्ताहरुलाई सहज हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले हाल प्रोटोटाइप (नमूना) निर्माण गरेको हो ।
यस्तै प्रतिष्ठानले नेपालमा नै कारखाना स्थापना गरेर काम गर्दा के कस्तो प्राविधिक तथा आर्थिक तयारी गर्नुपर्छ भन्नेबारेमा समेत सम्भाव्यता अध्ययन गरिरहेको छ । सो कार्यका लागि लुम्बिनी प्रदेश सरकारले सहकार्य गरिरहेको छ ।
प्रतिष्ठानको परिसरमा नै विद्युतीय स्कुटरको प्रयोगशाला निर्माण गरिएको छ । हाल बनाइएको स्कुटरको नाम ‘सारथी’ राख्ने बारेमा तयारी भइरहेको जनाएको छ ।
एउटा स्कुटर बनाउन प्रतिष्ठानले रु तीन लाखभन्दा बढी खर्च गरेको छ । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्ममा विद्युतीय स्कुटर बनाउन सकिन्छ । सबै सामान विदेशबाट आयात गर्नुपर्ने भएकाले केही महँगो भने हुन जाने प्रतिष्ठानको बुझाइ छ ।
प्रतिष्ठानले हाल तयार पारेको स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ ।
हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्न सक्छ । ब्याट्री र मोटरको क्षमता बढाउँदै जाँदा थप किलोमिटर गुडाउन सकिन्छ ।
Categorized in विज्ञान-प्रविधी