arin enterprises

मानवअधिकार परिषद्बाट रुसलाई हटाउन मतदान हुँदै

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २४, बिहिबार

 रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् (ओएचसीआर) को सदस्यबाट निलम्बन गर्ने विषयमा आज संयुक्त राष्ट्र संघको महासभामा मतदान हुँदैछ ।

युक्रेनमा रुसी सेनाले सुनियोजित रूपमा मानवअधिकार उल्लंघन गरेको भन्दै महासभामा मतदान हुन लागेको हो । महासभामा रहेको १९३ सदस्यमध्ये दुई तिहाई मतले रुसलाई सदस्यबाट हटाउने वा नहटाउने भन्ने निर्णय गर्न सक्नेछ । मतदानमा अनुपस्थित हुने सदस्य संख्या भने गणना हुने छैन ।

मानवअधिकार परिषद्को सदस्यबाट हटाउने प्रक्रियाको मतदानमा अनुपस्थित भए वा हटाउने पक्षमा मतदान गरे त्यसलाई ‘शत्रुतापूर्ण व्यवहार’ का रूपमा लिने चेतावनी रुसले दिएको छ । साथमा यसबाट द्विपक्षीय सम्बन्धमा समेत नकारात्मक असर पर्ने समेत रुसले जनाएको छ ।

फेब्रुअरी २४ बाट रुसले युक्रेनमा आक्रमण गरेदेखि राष्ट्रसंघ महासभामा रुसविरुद्ध २ वटा प्रस्ताव पारित भइसकेको छ, जसमा सहभागी १४१ सदस्यमध्ये रुसविरुद्ध १४० मुलुकले भोट हालेका थिए ।

पछिल्लो समय रुसले युक्रेनको बुचालगायतका सहरमा सर्वसाधारणमाथि आक्रमण गरेको भन्दै आलोचना बढ्दै गएको छ । तर रुसले भने सर्वसाधारणलाई आक्रमण नगरेको बताउँदै आएको छ ।

रुसको कार्यकाल सन् २०२३ मै सकिँदैछ । मानवअधिकार परिषद्को सदस्यबाट निलम्बन गर्ने प्रक्रिया पश्चिमले रुसलाई एक्ल्याउने अर्थमा लिइएको छ ।

साथै यसले बलियो राजनीतिक सन्देश दिन सक्ने र रुसले युद्ध अपराध गरेको विषयमा पनि छानबिन अगाडि बढ्न सक्ने बताइएको छ ।

मानवअधिकार परिषद्मा अफ्रिका र एसिया प्रशान्त क्षेत्रबाट १३, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट ८, पश्चिम युरोप र अन्यबाट ७ र पूर्वी युरोपबाट ६ गरी ४७ मुलुक सदस्य छन् ।

यसअघि सन् २०११ मा तत्कालीन नेता गद्दाफी समर्थित सेनाले मानवअधिकार उल्लंघन गरेको भन्दै लिबियालाई सदस्यबाट हटाइएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय