arin enterprises

‘गुठीको अधिकार गुठीयारमै निहित हुनुपर्छ’

SamacharDesk – विकाश | २०७६ मङ्सिर १३, शुक्रबार

समाजवादी पार्टी नेपालका सह अध्यक्ष साथै सांसद् राजेन्द्र श्रेष्ठले गुठी विधेयकले गुठीको स्वामित्व गुठीयारलाई नै दिनुपर्ने बताउनुभएको छ । 

नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाइृ आज बधाई र शुभकामना दिँदै सांसद श्रेष्ठले देशमा संघीयता आइसकेको अवस्थामा गुठी व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई नै दिनुपर्नेमा जोड दिनुभयो ।

सरकारले गुठी विधेयक फेरी ल्याउन लागेको विषय चर्चा भइरहेको समयमा सांसद श्रेष्ठले संघीय सरकारले विस्तृत रुपको विधेयक तीनवटा मात्र बुँदाको छोटो विधेयक ल्याए पुग्ने बताउनुभयो ।

अबको विधेयकमा सरकारले गुठी संस्थान खारेज गरेर गुठी समन्वय समिति मात्र गठन गर्ने विषय समावेश गर्नुपर्ने बताउनुभयो । दोश्रो बुँदामा गुठीको व्यवस्थापनको जिम्मा सम्वन्धित प्रदेश सरकारकै हुनुपर्ने उहाँको भनाई थियो ।

देशका विभिन्न स्थानमा रहेका विभिन्न गुठीको प्रकृती विलकुलै फरक हुने भएकोले देशैभरीको गुठीलाई एउटै डालोमा राखेर विधेयक बनाउने नै गलत हुन जाने श्रेष्ठले बताउनुभयो ।

‘प्रदेश ५ का थारु समुदायको गुठीको प्रकृती र काठमाडौंका नेवारहरुको गुठीको प्रकृती विलकुलै फरक छ । थारुहरुको गुठीमा मोहीयानी हक दिनुपर्ने भए प्रदेश ५ ले नै समन्वय गर्ला, व्यवस्थापन गर्ला’ सांसद श्रेष्ठले भन्नुभयो ।

तेश्रो बुँदामा आएर गुठीको सम्पूर्ण अधिकार गुठीयारमै निहित हुनुपर्नेमा सांसद श्रेष्ठले जोड दिनुभयो ।

देशमा जातीय भाषिक समानता, समावेशीता पूर्ण रुपमा कार्यान्वयन हुनका लागि संघीयतालाई पूर्ण रुपमा कार्यान्वयनमा लानुपर्ने पनि उहाँले बताउनुभयो ।

ठुला पार्टीहरुले आदिवासी जनजाति, मधेसी, महिलालाई कार्यकर्ता तहसम्म मात्रै राखेको र नेतृत्व तहसम्म कहिल्यै पुर्याउन नचाहेको पनि बताउँदै मधेसको मुद्दालाई मधेसवाद भन्नु नै ब्राम्हणवाद भएको दावी श्रेष्ठले गर्नुभयो ।

सो छलफल कार्यक्रममा पत्रकार दबूका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुले देश संघीयतामा गइसकेको अवस्थामा प्रदेश सरकारले स्थानीय मातृभाषाका संचारमाध्यमको उत्थानको लागि काम गर्नुपर्नेमा जोड दिएका थिए ।

पत्रकार दबूका नवनिर्वाचित अध्यक्ष सुरजबीर बज्राचार्यले देशैभरका नेवाः पत्रकारहरुको सामूहिक मुद्दाको उठान गर्दै राज्यको ध्यानाकर्षण गराउन नेवाः पत्रकार राष्ट्रिय दबूको उठन भएको बताउनुभयो ।

नेपालभाषाको पत्रकारिता क्षेत्रको उत्थानको लागि आफुले सक्दो सहयोग गरिरहने सांसद श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Categorized in राष्ट्रिय