arin enterprises

गर्भनरलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको ओलीको आरोप

SamacharDesk | २०७८ चैत्र २७, आइतबार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा रोष प्रकट गर्नुभएको छ ।

अध्यक्ष ओलीले अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको  बताउनु भएको हो ।

हिजो नेकपा एमाले पार्टी प्रवेश कार्यक्रमा बोल्दै उहाँले गर्भनरलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानवीन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाउनु भयो । त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाई नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दावी गर्नु भयो । उहाँले क्रान्तिकारी हुँ भन्नेहरुले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको यो पछिल्लो उदाहरण भएको अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्ने बेला आफ्नो पार्टीलाई थर्काएको आरोप समेत लगाउनु भयो । सत्तापक्षसँग मात्रै परामर्श गरेर जारी गरिएको निर्वाचन आचारसंहिता हस्ताक्षर गर्ने बेला आयोगले आफ्नो पार्टीका प्रतिनिधिहरुलाई हस्ताक्षर नगरे नगर्नुस् भनेर थर्काएको उहाँको गुनासो थियो । नेपालको इतिहासमा पहिलो पटक निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपक्ष दलहरुसँग परामर्श नगरी जारी गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भयो । निर्वाचन आयोगले अनुरोध गरेर निर्वाचन सम्पन्न गर्नुपर्नेमा कारबाहीको डण्डाको पो देखाउने गरेको अध्यक्ष ओलीले बताउनु भयो ।

अध्यक्ष ओलीले आफ्नो दलसँग परामर्श नगरी निर्वाचन आचारसंहिता जारी भएपनि त्यसको पूर्ण पालना गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनु भयो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082