arin enterprises

१७ वडामा एमालेबाट मचाराजाको उम्मेदवारी

SamacharDesk – बिराज | २०७९ बैशाख ६, मंगलबार

स्थानीय तहको निर्वाचनको क्रममा काठमाडौं महानगरपालिका १७ वडाको वडाध्यक्षमा नेकपा (एमाले) बाट मचाराजा महर्जनले उम्मेदवारी दिने भएका छन् ।

१७ वडाको संस्कृति, सम्पदा, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको सर्वाङ्गिण विकासको योजनासहित आफु चुनावी मैदानमा उत्रिने तयारीमा रहेको महर्जनले बताए ।

वडाको विकासको लागि आफुसँग छोटो समयमा सम्पन्न गर्नेदेखि दीर्घकालीन विभिन्न योजनाहरु रहेको महर्जनले बताए ।

‘निर्वाचन जितेर आउने वित्तिकै १७ वडाभित्र अव्यवस्थित तारहरुको व्यवस्थापन गर्छु, वडाको सरसफाईका लागि विशेष योजना ल्याउनेछु, विष्णुमति किनारलाई हरियाली पार्कको रुपमा विकास गर्नेछु भने इन्द्रायणी मन्दिर सँगैको खुल्ला स्थानलाई खुल्ला व्यायामशालाकाे रूपमा विकास गर्नेछु’ महर्जनले भने ।

वडाका विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षाकोस साथमा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गर्ने र क्षेत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालसँग समन्वय गर्दै ज्येष्ठ नागरिकलाई निःशुक्ल स्वास्थ्य परिक्षणको व्यवस्था गर्ने योजना पनि महर्जनले सुनाए ।

हाल ज्येष्ठ नागरिकलाई दिइने विशेष भत्ता वडाध्यक्षले आफ्नो खल्तीमा बोकेर हिँड्ने परिपाटीको अन्त्य गर्दै बैंकमार्फत विशेष भत्ता उपलब्ध गराउने पनि महर्जनले बताए ।

‘१७ वडा भित्रका मूर्त सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार साथै अमूर्त सम्पदाको संरक्षण र सम्वद्र्धनका लागि गुरुयोजना नै बनाएर अघि बढ्नेछु’ महर्जनले आफ्नो योजना सुनाए ।

समाचारडेस्कसँग कुरा गर्दै महर्जनले १७ वडामा आफ्नो जित सुनिश्चित रहेको दावी गरे ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका १७ वडामा नेपाली काँग्रेस विजयी भएको थियो । हाल १७ वडामा नेपाली काँग्रेसका नवीन मानन्धर वडाध्यक्ष छन् ।

यस पालिको चुनावी मैदानमा नेकपा (एमाले) बाट चुनावी मैदानमा उत्रिन लागेका महर्जन विभिन्न सामाजिक संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय छन् भने व्यावसायिक रुपमा उनी पार्टी प्यालेस व्यवसायमा संलग्न छन् । 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082