ललितपुर महानगर १६ वडाको चिनारी पुस्तक सार्वजनिक
SamacharDesk – बिराज | २०७९ बैशाख ७, बुधबार

ललितपुर महानगरपालिका १६ वडाको बारेमा अब पुस्तकमा पढ्न पाइने भएको छ । ललितपुर महानगरपालिका १६ वडा कार्यालयले वडाको प्रोफाइल र चिनारी दुईवटा पुस्तक सार्वजनिक गरेको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा वडा १६ का सल्लाहकार डा. गम्भीरलाल राजभण्डारीले उक्त दुई प्रकाशन सार्वजनिक गर्नुभयो ।
उक्त पुस्तक २ बर्षभन्दा बढी समय लगाएर वडाका प्रत्येक घरधुरी पुगी तयार गरिएको बताइएको छ ।
वडाको प्रोफाइल सगुन धाख्वाःको संयोजकत्वमा तयार पारिएको हो । संयोजक धाख्वाःले विनय धाख्वाः, साक्षी राजभण्डारी र २० जना तथ्याङ्क संकलकहरुको सहभागितामा तयार पारिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै धाख्वाःले कोभिड १९ को महामारीलगायत अनेकौं बाधा ब्यवधानकाबीच प्रोफाइल तयार गर्न सकेकोमा खुशी ब्यक्त गर्नुभयो ।
विश्व कला नगरीको रुपमा उल्लेख भएको ललितपुर महानगर भित्रको १६ वडाको चिनारी पुस्तक भने रविन्द्र शाक्यको संयोजकत्वमा तयार पारिएको हो । दुई सय पृष्ठको चिनारी पुस्तक सुनील महर्जनको सम्पादनमा प्रकाशित भएको हो ।
पुस्तकमा वडाका जनप्रतिनिधिहरुको परिचय, वडा परिचय, सम्पदा, पाटीपौवा, पर्यटकीय क्षेत्र, अमूर्त सम्पदा, बहाःबही परिचय, पानीको श्रोत, वडा विवरण, वडा गतिविधि तथा कोषहरुबारे उल्लेख गरिएको छ ।
पुस्तक लोकर्पण कार्यक्रममा आफ्नो भनाई राख्दै वडा अध्यक्ष निर्मलरत्न शाक्यले वडाको प्रगतिकै लागि दिनरात नभनी खट्ने सम्पूर्णप्रति कृतज्ञता ज्ञापन गरे ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले वडाको ऐतिहासिक, सांस्कृतिक पहिचानमा वडाका जनप्रतिनिधि तथा वडाका वासिन्दाहरुको सम्पूर्णले नमूना वडाको रुपमा स्थापित गरेको उल्लेख गरिन् ।
Categorized in स्थानीय