‘चियर्स’को सट्टा ‘आयला’ : मास्टर सेफ साह
SamacharDesk – Aakash Rajopadhyaya | २०७९ बैशाख ८, बिहिबार

कुनै पनि उत्सव तथा पार्टीहरुमा पेय पदार्थ पिउँदा “चियर्स” भनेर ग्लास ठोक्काउँछौं । ‘चियर्स’को सट्टा कुनै नेपाली शब्द ‘आयला’ प्रयोग गर्न सके त्यसले नेपाली संस्कृति, मौलिकपन र नेपालीपन दिनसक्छ ।
नेपाली सेलिब्रेटी सेफ सन्तोष साहले बताउनुभएको छ । ‘आयला’ नेपाल भाषाको शब्दावली हो जुन रक्सीलाई जनाउँदछ । ‘आयला’ शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने, पर्यटकलाई पनि रोचक हुने र गन्तव्यको सकारात्मक प्रवद्र्धन हुने उहाँको भनाई छ ।
बीबीसी मास्टर सेफ सन्तोष साहसहित चर्चित विदेशी सेफको टोली अहिले नेपालमा मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिरहेको छ । नेपालको मौलिक संस्कृति र खानामार्फत नेपाललाई गन्तव्यका रूपमा प्रचारप्रसार गर्नु यो अभियानको उद्देश्य हो ।
पाटा नेपालद्वारा आयोजित ‘मास्टरसेफ फाइनालिस्ट टुर टु नेपाल’मा चर्चित सेलिब्रेटी सेफ सहभागी छन् । उनीहरूले नेपालको पहिचान झल्काउने पहिरनमा नेपालका विभिन्न गन्तव्यमा मौलिक खानाको अवलोकन, अन्वेषण एवं प्रवद्र्धन गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मास्टर सेफको नेपाल भ्रमण तथा गतिविधिबाट विश्वमा नेपालको मौलिक खाना र संस्कृतिको प्रचारप्रसार हुनेछ र नेपाली पर्यटन क्षेत्र पूर्ण खुला र जीवन्त रहेको सकारात्मक सन्देश प्रवाह हुनेछ ।
Categorized in राष्ट्रिय